शशांक कोइरालालाई निर्वाचन आयोगले सचेत गरायो
काठमाडौं, वैशाख १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालालाई आचारसंहिता विपरितका अभिव्यक्ति नदिन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ। कोइरालाले आफूले निर्वाचन लड्दा ६ करोड...
काठमाडौं, वैशाख १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालालाई आचारसंहिता विपरितका अभिव्यक्ति नदिन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ।
कोइरालाले आफूले निर्वाचन लड्दा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए। आयोगले भने सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कोइरालालाई स्पष्टिकरण सोधेको थियो।
सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगको अभिलेखमा कोइरालाले निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको देखिएकाले चित्तबुझ्दो जवाफ माग गरिएको जानकारी दिए।
कोइरालाले स्पष्टिकरण दिइसकेकाले आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन आयोगले सचेत गराउने निर्णय गरेको अर्यालले बताए।
‘कोइरालाको अभिव्यक्ति आचारसंहितको मूल आधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय गरियो,’ अर्यालले भने।











