एनभिए लिग : महिलातर्फ पुलिसकाे विजयी सुरुआत

काठमाडाैं, वैशाख १९ : नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो। सुरुआती दुई सेट २५–२०,२५–२३ ले पुलिसले जितेको थियो। तेस्रो सेट एपीएफ २५–१७ ले आफ्नो बनायो। तर, चौंथो सेट २५–१६ ले जित्दै पुलिसले सुखद सुरुआत गरेको हो।
यसअघि पहिलो खेल त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको थियो। आर्मीले एभरेस्टमाथि २५–१९, २५–७ र २५–१८ को सेटमा जित निकालेको हो।
यस्तै पुरुषतर्फको खेलमा हेल्प नेपालले विजयी सुरुआत गरेको छ। सोमबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएर हेल्प नेपालले विजयी सुरुआत गरेको हो। हेल्पले ढोरपाटनलाई २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो। जितसँगै हेल्पले ३ अंक जोडेको छ। ढोरपाटनको यो लगातार दोस्रो हार हो।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ। पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट क्लब रहेको छ। विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्।











