आपराधिक तत्वसँग प्रहरीको साँठगाँठ अन्त्य गर्नेछु : नवनियुक्त आइजिपी सिंह

काठमाडौं, वैशाख १९ : नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले आपराधिक तत्वसँग प्रहरीको साँठगाँठ अन्त्य गर्ने बताएका छन्।
सोमबार दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्दै आइजिपी सिंहले प्रहरीलाई सांगठनिक क्रियाकलापलाई प्रक्रियागत एवम् पारदर्शी बनाउन कर्मचारीहरुमा जवाफदेहिता बढाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम राख्ने आपराधिक तत्वहरुसँगको साँठगाठलाई निमिट्यान्न पार्ने, लगायतका कुराहरुलाई केन्द्रमा राखी आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्ययोजनालाई लागू गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
‘नेपाल प्रहरीको नवनियुक्त प्रहरी महानिरीक्षकको हैसियतले नेपाल सरकार तालुक मन्त्रालयको मार्गनिर्देशन हाम्रा लागि मार्गप्रशस्त गर्ने प्रमुख आधार हो,’ उनले भने, ‘मानवअधिकारको संरक्षण र संवद्र्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र दृढ संकल्पित रहेको छ।’
उनले राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ वहन गर्न प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेका बताए। नेपाल प्रहरीमा आवद्ध कर्मचारीहरु सक्षम र योग्य भएमात्र अपेक्षाकृत प्रतिफल पाउने यथार्थलाई मनन गर्दैै नेपाल प्रहरीले प्रवाह गर्ने सेवाको गुणस्तरीयता र प्रभावकारीता बढाउन कर्मचारीहरुको वृत्ति विकासलाई प्राथमिकताका साथ अघि बढाउँदै सांगठनिक सुदृढीकरणमा जोड दिनु नै आवश्यकता रहेको उनले बताए।
सिंहले शहरकेन्द्री अपराधको स्वरुपमा भइरहेको तीव्र परिवर्तनले चुनौती थपिएको बताए। त्यस्ता चुनौतीको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प नरहेको उनले बताए। ‘अपराध र सुरक्षा चुनौतीको आधारमा मापदण्ड बनाई अर्बान पुलिसिङ र रुरल पुलिसिङको अवधारणा अनुरुप सुरक्षित गाउँ र सुरक्षित शहरको निर्माण गरी आम नगरिकमाझ नेपाल प्रहरीप्रतिको विश्वास अभिवृद्धी गर्नेतर्फ आगामी रणनीति अझै बढी केन्द्रीत रहनेछ। त्यसमा नेपाल सरकार र गृह मन्त्रालयको संरक्षकत्वसहितको मार्गनिर्देशन र सद्भाव तथा अन्य सम्बन्धित सबै निकायहरुको सहयोग रहिरहनेछन् भन्ने मेरो पूर्ण विश्वास रहेको छ,’ उनले भने।











