वैशाख २३ देखि हुने शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडाैं, वैशाख १९ : १६औं धर्मश्री प्रथम मेन फिजिक्स र प्रथम महिला फिटनेस राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिमर चरणमा पुगेो जानकारी दिएको हो।
यसअघि धर्मश्री मात्रै आयोजना गर्दै आएकोमा यस पटक महिला तथा पुरुष फिजिक्स बिधालाई पनि थप गरिएको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए।
सहिद धर्मभक्त माथेमाको स्मृतिमा आयोजना हुने प्रतियोगिताका विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजी तौल समूहमा चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने प्रत्येक विधामा पहिलो स्थान हात पार्ने खेलाडीबीच धर्मश्रीको उपाधिका लागि प्रतिस्पर्धा हुने प्रधानले जानकारी दिए।
करिब ४ सय खेलाडीहरुको सहभागीता रहने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ९० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ। पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजकहरुको बारेमा जानकारी गराइएको थियो।











