आइजिपी नियुक्तिमा वरीयता मिचिएको भन्दै एआइजी पोखरेल सर्वाेच्चमा
काठमाडाैं, वैशाख १९ : नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले आइजिपी नियुक्तिमा वरीयता मिचिएको भन्दै सर्वोच्च अदालतलाई गुहारेका छन्।एआइजी पोखरेलले वारेस सुनिता रावतमार्फत आफ्नो...
काठमाडाैं, वैशाख १९ : नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले आइजिपी नियुक्तिमा वरीयता मिचिएको भन्दै सर्वोच्च अदालतलाई गुहारेका छन्।
एआइजी पोखरेलले वारेस सुनिता रावतमार्फत आफ्नो रिट सर्वोच्चमा पेस गरेको बुझिएको छ। रिट हाल अध्ययनका क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
मन्त्रिपरिषद बैठकले आइतबार तेस्रो वरीयतामा रहेका धिरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेको थियो। सरकारले विधि र प्रक्रिया मिचेर आइजिपी नियुक्त गरेको भन्दै आइजी पोखरेल असन्तुष्ट बनेका छन्। एआइजी पोखरेल वरीयताको एक नम्बरमा थिए।
प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार एआइजी पोखरेलले एक महिना बिदा लिएका छन्। आइजिपीका अर्का प्रतिस्पर्धी सहकुल थापाले १० दिनेको घरबिदा लिएको बताइएको छ। उनी वरीयताको दोस्रो नम्बरमा थिए।
आइतबार गृह मन्त्रालयमा आयोजित आइजिपी बिदाइ कार्यक्रममा पनि एआइजीद्वय पोखरेल र थापा उपस्थित भएनन्।
यता आइजिपी सिंहले आज (सोमबार) गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेबाट दर्ज्यानी चिह्न लगाइसकेका छन्।











