Kathmandu Press

चुनावी प्रचारकाे झपडलाई लिएर पाल्पा एमाले र कांग्रेसबीच दोषारोपण

पाल्पा, वैशाख १९ : स्थानीय तहको चुनाव प्रचारका क्रममा भएको झडपलाई लिएर पाल्पा रामपुर नगरका एमाले र कांग्रेसले एकअर्कालाई दोषरोपण गरेका छन्। ती दुवै...
चुनावी प्रचारकाे झपडलाई लिएर पाल्पा एमाले र कांग्रेसबीच दोषारोपण

पाल्पा, वैशाख १९ : स्थानीय तहको चुनाव प्रचारका क्रममा भएको झडपलाई लिएर पाल्पा रामपुर नगरका एमाले र कांग्रेसले एकअर्कालाई दोषरोपण गरेका छन्। ती दुवै पार्टीले प्रेस विज्ञप्ति जारी गरेर एकअर्कालाई दोषरोपण गरेका हुन्। 

चुनाव प्रचारका क्रममा आइतबार दिउँसो दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको थियो।

एमाले पाल्पा अध्यक्ष विष्णुप्रसाद रेग्मीले कालीगण्डकी करिडोर सडकमा दिउँसो साढे ३ बजेतिर कांग्रेसको झन्डासहित भाला, खुकुरी बोकेर आएका १०० देखि १२० जनाजतिको समूहले मत मागिरहेका एमाले कार्यकर्तामाथि कुटपिट गरेको, सम्झाउँदा पनि नमानेको र मेयरउपमेयर उम्मेदवार चढ्ने गरेको गाडी, १० वटा मोटरसाइकलमा समेत तोडफोड गरेको दाबी गरेका छन्।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै अराजकता र उद्दण्डता देखाई आतंकित बनाएर चुनावी प्रचार अभियानलाई असर पुर्‍याएकोप्रति एमालेले भर्त्सना गरेको छ। आफ्नो पार्टीले अपनाएको संयमलाई कमजोरी नठान्न पनि एमालेको विज्ञप्तिमा अनुरोध गरिएको छ।  

त्यसैगरी नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति नै जारी गरेर बिहान ८ बजे एमाले वडा १० का वडाध्यक्ष उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दीप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेस कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको दाबी गरेका छन्।

आफ्ना असल कार्यकर्तामाथि एमाले कार्यकर्ताले हतियार लिएर आई उग्र शैलीमा गरेको सांघातिक हमालाप्रति नेपाली कांग्रेसको गम्ीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।      

दुवै दलले आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन र कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ति भराउन माग गरेका छन्।

प्रकाशित मिति: १२:२९ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्