Kathmandu Press

यस्तो छ स्थानीय निर्वाचनमा कांग्रेसले जित्ने गणित 

२०७४ को निर्वाचन परिणाम अनुसार, २२ गाउँपालिका र ११ नगरपालिकामा सयभित्रको मतान्तरमा कांग्रेसले जितेको छ । त्यतिबेला जितेका ३३ स्थानमा यसपल्ट कांग्रेसको भागमा परेका स्थानीय तहमा पुनः सिट सुरक्षित गर्ने स्थिति छ ।
यस्तो छ स्थानीय निर्वाचनमा कांग्रेसले जित्ने गणित 

काठमाडौं, वैशाख १९ : २०७४ को स्थानीय निर्वाचनमा जितेका र पराजित भएका स्थानमा नेपाली कांग्रेसले जित निकाल्ने बलियो सम्भावना देखिएको छ । हार बेहोरेका अधिकांश स्थानीय तहमा कांग्रेसको झिनो मतान्तर देखिएको छ । गठबन्धनका कारण यसअघि पराजित ती गाउँपालिका र नगरपालिकामा कांग्रेसले सहज रूपमा जित निकाल्ने परिस्थिति बनेको छ । कांग्रेस पराजित भएका ती स्थानीय तहमा अधिकांशमा एमालेले जित हात पारेको थियो । 

२०७४ को निर्वाचन परिणाम अनुसार, २२ गाउँपालिका र ११ नगरपालिकामा सयभित्रको मतान्तरमा कांग्रेसले जितेको छ । त्यतिबेला जितेका ३३ स्थानमा यसपल्ट कांग्रेसको भागमा परेका स्थानीय तहमा पुनः सिट सुरक्षित गर्ने स्थिति छ । यस्तै, १९ गाउँपालिका र १२ नगरपालिका गरी ३१ वटा स्थानीय तहमा सयदेखि दुई सयबीचको मतान्तरमा विजयी बनेको थियो । यस्तै, १८ वटा गाउँपालिका र सातवटा नगरपालिकामा दुई सय एकदेखि तीन सयबीचको मतान्तरमा कांग्रेसले जितेकोे छ । तीन सय एकदेखि चार सय मतान्तरमा जित्ने गाउँपालिका र नगरपालिकाको संख्या २२ रहेको छ । यस्तै, चार सय एकदेखि पाँच सय मतान्तरमा १२ गाउँपालिका र दशवटा नगरपालिकामा कांग्रेस विजयी भएको छ । 

यसैगरी पाँच सय एकदेखि हजारसम्मको फरकमा ४६ गाउँपालिका र २६ नगरपालिका गरी ७२ स्थानीय तहमा जित हासिल गरेको छ । एक हजार एकदेखि १५ सयसम्मको मतान्तरमा १५ गाउँपालिका र १४ नगरपालिकामा विजयी बनेको छ । १५ सय भन्दामाथि मतान्तरमा १० गाउँपालिका र २१ नगर गरी ३१ स्थानमा जित सुनिश्चित गरेको थियो । यता कांग्रेस दोस्रो हुने गाउँपालिका र नगरपालिकामा पनि अधिकांश स्थानमा झिनो मतान्तर देखिएको छ । सयभित्रको मतान्तरमा २५ गाउँपालिका र नौवटा नगरमा कांग्रेस पराजित भएको थियो । ती ३४ वटा स्थानीय तहमा यसपल्ट कांग्रेस बलियो पोजिसनमा छ ।

एक सय एकदेखि दुई सयबीचको मतान्तरमा २१ गाउँपालिका र १७ नगरपालिकामा कांग्रेसले पराजय बेहोर्नुपरेको थियो । विगतमा गुमाएका ती ३८ स्थानमा पनि मत परिणाम उल्टिने सम्भावना बढेको छ । दुई सय एकदेखि तीन सयबीचको मतान्तरमा हारेका गाउँपालिकाको संख्या १४ र नगरपालिकाको संख्या नौ रहेको छ भने चार सय एकदेखि पाँच सय मतान्तरमा हारेका गाउँपालिका १४ र नगरपालिका संख्या चार रहेको छ । 

२०७४ को निर्वाचनमा पाँच सय एकदेखि हजारसम्मको फरकमा ५१ गाउँपालिका र २३ नगरपालिकामा पराजय बेहोर्नुपरेको थियो । यस्तै, एक हजार एकदेखि १५ सयसम्मको मतान्तरमा २० गाउँपालिका र १४ नगरपालिकामा कांग्रेस हारेको थियो । ती ३४ स्थानमा पनि साख फर्किने आकलन कांग्रेसको छ । यसैगरी १५ सयभन्दा माथि मतान्तरमा २२ गाउँपालिका र ४८ नगर गरी ७० स्थानमा हार बेहोर्नुपरेको थियो ।

यसरी त्यतिबेला एक सय ६० गाउँपालिका र एक सय पाँच नगरपालिका गरी दुई सय ६५ स्थानमा कांग्रेस विजयी भएको छ । एक गाउँपालिकामा कांग्रेस उम्मेदवार सर्वसम्मत भएका थिए । यस्तै, एक सय ८६ गाउँपालिका र एक सय ३३ नगरपालिका गरी तीन सय १९ स्थानमा कांग्रेस पराजित भएको छ । हारेका स्थानमा समेत यसपल्ट अवस्थामा उलटफेर हुने विश्लेषण कांग्रेसको छ । 
 

प्रकाशित मिति: १०:३७ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्