गोरखामा कांग्रेस र जसपाबीच चुनावी तालमेल
गोरखा, वैशाख १९ : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ।पालुङटारमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार...
गोरखा, वैशाख १९ : गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ।
पालुङटारमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच तालमेल पक्का भएको हो।
कांग्रेसले प्रदेश कार्यसमितिले उम्मेदवार चयन गरेको भए पनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उनले जनाएका छन्।
'स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु,' उनले भनेका छन्, 'दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु।'
उनले सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भएअनुसार उम्मेदवारी फिर्ता गरेको विज्ञप्तिमार्फत जनाएका छन्।
नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपील गरेका छन्। पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको छ।











