Kathmandu Press

विश्व पोखरेलको ट्र्याक रेकर्ड : वरीयता मिच्दै बढुवामा छलाङ मार्दै 

२०७४ साउन १९ गते ४ ब्याचमेट र अघिल्लो ब्याचका ७ जनालाई उछिन्दै पोखरेल एसएसपीमा बढुवा भएका थिए। त्यतिबेलै पोखरेलमाथि राजनीतिक शक्तिको चाकडी गरी बढुवा भएको आरोप लागेको थियो।
विश्व पोखरेलको ट्र्याक रेकर्ड : वरीयता मिच्दै बढुवामा छलाङ मार्दै 

काठमाडौं, वैशाख १८ : आइतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयबमोजिम नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा धिरजप्रताप सिंह बढुवा भइसकेका छन्। आइजिपीमा बढुवा नपाएपछि बरियताक्रममा अघि रहेका एआइजी विश्वराज पोखरेल रुष्ट देखिएका छन्। पोखरेलले सर्वोच्च अदालतमा रिट दिनका लागि आइतबार नै केही वरिष्ठ कानुन व्यवसायीसँग रायपरामर्श लिइसकेका छन्।

आइजिपी बढुवाको निर्णयविरुद्ध कानूनी लडाइँमा जान लागेका पोखरेल स्वयम्को ट्र्याक रेकर्ड भने शंकास्पद र विवादित छ। राजनीतिक व्यक्तिहरुको चाकडी गर्दै पोखरेल  आफूभन्दा वरिष्ठ प्रहरी अधिकारीलाई समेत उछिनेर बढुवा हुँदै आएका थिए। 

२०४९ चैतमा पोखरेल प्रहरी निरिक्षकबाट प्रहरी सेवामा लागेका थिए। नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह पनि उनकै ब्याचमेट हुन्। त्यतिबेला सिंह पहिलो र पोखरेल चौथो वरीयतामा थिए। डिएसपीसम्म आइपुग्दा पोखरेल २० औं नम्बरको वरीयतामा थिए। सिंहको भने एसएसपीसम्म पहिलो वरीयता कायम थियो। 

२०७४ साउन १९ गते ४ ब्याचमेट र अघिल्लो ब्याचका ७ जनालाई उछिन्दै पोखरेल एसएसपीमा बढुवा भएका थिए। त्यतिबेलै पोखरेलमाथि राजनीतिक शक्तिको दुरुपयोग गरी बढुवा भएको आरोप लागेको थियो। पोखरेलले सञ्जयराज शर्मा, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, देशबहादुर बोहरा, वसन्तकुमार पन्त र राजेशलाल कर्णलाईसमेत उछिनेका थिए। यति मात्र होइन एसएसपीबाट डिआइजी हुँदा पनि पोखरेल एक्लै बढुवा भए। 

डिआइजीमा बढुवा हुँदा पोखरेलले गणेशबहादुर ऐर, घनश्याम अर्याल र पुरुषोत्तम कँडेललाई माथ गरेका थिए। खासमा पहिले वरीयता मिचेर अगाडि नबढेको भए उमेर हदका कारण अघिल्लो ब्याच एसएसपीबाटै अवकाश हुने अवस्था आउँथ्यो।

उनीसँगैका समकक्षी साथी तत्कालीन राजनीतिक स्वार्थ र दाउपेचका कारण अन्यायमा परेका पात्र हुन् पोखरेलले वरीयता मिच्दा उनीभन्दा वरिष्ठ रहेका अन्य सहकर्मीको वृत्ति विकासमा ठुलो धक्का पुगेको छ। 

नेपाल प्रहरीमा इतिहासमै सबैभन्दा बढी वरीयता मिच्नेमा पोखरेलकै नाम अघि आउँछ। उन आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचलाई पनि उछिनेर अस्वाभाविक   गरेका थिए। यसबाट सबै हथकण्डा अपनाएर जसरी पनि आइजिपी हुने ध्याउन्न उनमा देखिन्छ।

 केपी ओली प्रधानमन्त्री भएका बेला सरकारले पोखरेलका लागि महानगरीय प्रहरी कार्यालयमा एआइजीको दरबन्दी नै थपेको थियो। जबकि त्यसअघिसम्म डिआइजीको दरबन्दी मात्र थियो। 

२०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलको चाकडी गरेर विश्वराज एआइजी बनेका थिए। ओली सरकारले पोखरेलका लागि महानगरीय प्रहरी कार्यालयमा एआइजीको दरबन्दी नै थपेको थियो। जबकि त्यसअघिसम्म डिआइजीको दरबन्दी मात्र थियो। चुनावमा उपयोग गर्न सकिने भएका कारण ओली सरकारले पोखरेललाई आइजिपी बनाउने गरी एआइजी नियुक्त गरेको थियो। त्यतिबेला पोखरेल निर्विकल्प आइजिपीका रुपमा चर्चा हुन्थ्यो। अन्ततः ओली सरकारको बहिर्गमन नै पोखरेलका लागि दुर्भाग्य बन्न पुगेको छ।  

पछिल्लो देउवा सरकारले सिंहसहित तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णयसँगै पोखरेलको योजनामा धक्का पुग्यो। मन्त्रिपरिषदको निर्णयसँगै आइजिपी यात्रामा पूर्ण विराम लागेको छ।

सिंहलाई आइजिपीको निर्णय गरेपछि एआइजीद्वय पोखरेल र सहकुल थापा असन्तुष्ट देखिएका छन्। थापाको भने अदालतमा जाने वा नजाने विषयमा कुनै निधो भएको छैन। समकक्षी अर्का एआइजी रवीन्द्र धानुकले भने फेसबुक मार्फत बधाई दिइसकेका छन्।  सत्ताको आडमा फड्को नहानेको भए सायद पोखरेल अहिलेसम्म पनि डिआइजी नै रहन्थे। अब भने सर्वोच्चबाट अन्यथा भएन भने उमेर हदका कारण पोखरेल साउन २० गतेपछि एआइजीबाट अनिवार्य अवकाशमा घर जाने छन्।

यसो त सर्वोच्चकै पूर्ण इजलासले नवराज सिलवालको केशमा ‘वरिष्ठता’ मात्र आइजिपीको निर्विकल्प मापदण्ड हुन नसक्ने व्याख्या गरिसकेको छ। कार्यसम्पादन, योग्यता, क्षमता, कर्तव्यपालना, अनुसासन र इमानदारीलाई पनि नजरअन्दाज गर्न नमिल्ने नजिर प्रतिपादन भएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।


 

प्रकाशित मिति: १९:४० बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्