विद्रोही उम्मेदवार गठबन्धनको पक्षमा आउने कांग्रेसकाे विश्वास

काठमाडाैं, वैशाख १८ : नेपाली कांग्रेसले स्थानीय तहमा उठेका विद्रोही उम्मेदवारहरु गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ।
कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केही स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै विद्रोही उम्मेदवारहरु गठबन्धनको पक्षमा नै आउने जनाएको हो।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत्तले तालमेल गर्ने ठाउँमा पार्टीको निर्णय स्वीकार गरेर जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी मनोनयन दर्ता भएको बताए।
कतिपय ठाउँमा समझदारी र पार्टीको निर्देशनविपरीत उम्मेदवारी नदिन अनुरोध गरिएको उनले बताए। प्रवक्ता महतले देशभरका स्थानीय तहमा कांग्रेसका तर्फबाट ३० हजार ६ सय २८ जनाले उम्मेदवारी दिएको जानकारी दिए।
उनले कांग्रेस आचारसहितभित्र बसेको तर एमालेले आचारसंहिताविपरीत काम गर्दा निर्वाचन आयोग मौन बसेको भन्दै आयोगको ध्यानाकर्षण गराउने बताए।
उनले मुलुकको समृद्धि र विधिको शासन अनुसार सवै दल चल्नुपर्ने बताए। प्रवक्ता महत्तले प्रचार अभियानलाई तीव्र बनाइएको जानकारी दिए।











