Kathmandu Press

एनभिए राष्ट्रिय लिग : गण्डकी र पुलिसकाे विजयी सुरुवात

एनभिए राष्ट्रिय लिग : गण्डकी र पुलिसकाे विजयी सुरुवात

काठमाडाैं, वैशाख १८ : गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आरबिबी-एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुषतर्फ विजयी सुरुवात गर्न सफल भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन भएको पहिलो खेलमा गण्डकीले ३–१ को जित निकाल्यो। गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो।

यस्तै आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो। पुलिसले गलकोट स्पोर्टस् क्लबलाई २५–१५, २५–१७, २५–२२ को सोझो सेटमा पराजित गरेको हो।

बैशाख १८ गते देखि २४ गते सम्म संचालन हुने लिगको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। सदस्य सचिव घिसिङले प्रतियोगिता रेफ्रि पूर्ण चौलागाईलाई भलिबल प्रदान गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए।

क्लब लिगमा महिला तर्फ होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको छ।

पुरुष तर्फ त्रिभुवन आर्मी क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गलकोट स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल क्लब र ढोरपाटन स्पोर्टस क्लबको सहभागिता रहेको छ।

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्