Kathmandu Press

इँटा मजदुरको व्यथा : ६ महिना घर, ६ महिना झ्याउली बास

उनीहरू हिउँदका ६ महिना इँटाभट्टामा काम गर्छन्, बर्खाका ६ महिना गाउँ (धुलिखेल) फर्कन्छन्।बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन।हिउँदमा कमाएको पैसाले बर्खाका ६ महिना गुजार्न हम्मे हुन्छ, त्यसपछि उनीहरू हिउँद लागेसँगै पुनः इँटाभट्टा फर्कन्छन्।

स्थान : भाटेढिकुर, भक्तपुरस्थित मैत्री हनुमान इँटा उद्योग। 
समय : मध्याह्न १२ बजे। 
मिति : १० फागुन ०७८। 
पात्र : इँटा बनाउने र बोक्नेहरू। 

दुई लाइनमा इँटा बन्दै थियो।एक लाइनमा थिए, ६९ वर्षीय गणेश खड्की।अर्को लाइनमा उनकी पत्नी ५५ वर्षीया सुना थिइन्।उनीहरूका लागि माटो ओसार्दै थिए, उनीहरूका २६ वर्षीय छोरा रेशमले। ‘दिनको चर्को घाममा काम गर्न सकिँदैन, अर्कोतिर मुछेको माटो सुकेर साह्रो हुन्छ, इँटालाई आकार दिन केही गिलो माटो चाहिन्छ,’ गणेशले पसिना पुछ्दै भने, ‘त्यसैले छिटोछिटो इँटा बनाउनुपरेको छ।’ 

हामीले उनीसँग उनीहरूको काम र इँटा बन्ने प्रक्रियाबारे सोधेका थियौँ। माटो सुक्ने भएकाले राति १–२ बजेदेखि नै आफूहरू काममा खटिने गरेको उनले बताए। 

Hardik ivf

यी तीनजनाको दैनिकी इँटा बनाउने साँचोको आवाजसँगै सुरु हुन्छ।उनीहरू नउठे पनि यहाँ अरु उठेर इँटा बनाउन थाल्छन्।भक्तपुरको भाटेढिकुरस्थित ‘मैत्री हनुमान इँटा उद्योग’मा यतिखेर चार सय मजदुरले काम गरिरहेका छन्। 

१० फागुनको अघिल्लो रात सुना सधैँझैँ १ बजे उठिन् र चिया बनाइन्।चियासँगै केही खानेकुरा खाएपछि गणेशले रक्तचाप र दमको औषधि खान्छन्।उनी दम र रक्तचापको दीर्घ रोगी हुन्।‘औषधि नखाई काम गर्न सक्दिनँ, त्यसैले बिहान उठ्नासाथ औषधि खान्छु,’ गणेश भन्छन्, ‘चिसो भए रोगले चाप्छ।राति २ बजेभन्दा अगाडि उठ्दिनँ।’

श्रीमान रोगी छन्, रातको चिसोमा सुत्नुपर्ने हो, तर सुनालाई सुख छैन।राति १ बजेतिरै उठेर उनले श्रीमानका लागि चिया लगायत खाने कुरा तयार गर्छिन्।स्थायी घर धुलिखेल भएका गणेशका तीन जनाको परिवार इँटाभट्टा नजिकैको छाप्रो (झ्याउली)मा बस्छ। धुलिखेलमा जीवन गुजार्ने काम वा पेसा नभएपछि गणेशका पिता इँटाभट्टातिर छिरेका थिए।बाआमासँगै १२–१३ वर्षको उमेरदेखि गणेशकाे पनि इँटाभट्टाको पेरिफेरीमा बास छ। 

काँचो इँटाको गाह्रो र जस्ताको छानो भएको झ्याउलीभित्र इँटा ओछ्याएर ओछ्यानजस्तो बनाइएको छ।‘पानी पर्दा अलि गाह्रो हुन्छ, अरु बेला बस्न ठिकै हुन्छ,’ गणेश भन्छन्, ‘पानी पर्दा इँटा बिग्रिने डर हुन्छ।ठूलो वर्षा हुँदा कैयौँपटक राति उठेर अन्य ठाउँमा ओत लाग्न जानुपरेको छ।’ 

उनीहरू हिउँदका ६ महिना इँटाभट्टामा काम गर्छन्, बर्खाका ६ महिना गाउँ (धुलिखेल) फर्कन्छन्।बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन।हिउँदमा कमाएको पैसाले बर्खाका ६ महिना गुजार्न हम्मे हुन्छ, त्यसपछि उनीहरू हिउँद लागेसँगै पुनः इँटाभट्टा फर्कन्छन्।यही दैनिकी अर्थात् ऋतुचक्रमा गणेशले जीवनका ६९औँ वसन्त गुजारिसके।उनले बनाएका इँटाले कति महल बने, उनैलाई थाहा छैन, तर इँटा बनाउँदा बनाउँदै उनको जवानी मात्रै होइन, बुढेसकाल पनि छाप्रोमै गुज्रँदै छ।  

यहाँ नेताको छोरा नेता, अभिनेताको छोरा अभिनेता, व्यापारीका छोरा व्यापारी हुने नियम वा चक्र जस्तै बनेको छ, अर्कोतिर इँटाभट्टामा काम गर्नेका छोरा पनि इँटाभट्टामै लाग्नुपर्ने व्यथा व्यवस्थाजस्तै बनेको छ, यो व्यवस्था बदलिन्छ कसरी ? गणेशलाई यसको राजनीति केही थाहा छैन।गणेश भन्छन् ‘बा–आमाले सानैदेखि यही काम गर्न सिकाए।त्यसैले अरू काम गर्न जानिनँ, अहिले भारी बोक्न सक्दिनँ, इँटा त हाम्रो पुख्र्यौली पेसाजस्तै भयो।’ 

इँटाभट्टामा पनि सीप वा दक्षता चाहिन्छ।गणेशका छोराले रेशमले बनाएको इँटा साहुले मन पराउँदैनन्।त्यसैले उनी माटो ओसार्ने काममा खटिन्छन्।माटो ओसार्दै गरेका रेशमले बा–आमाको अनुहारमा हेर्दै भने, ‘इँटा बनाउन त मन लाग्छ, मैले बनाएको इँटा साहु आएर कुल्चिदिन्छन्।’ 

गणेशको परिवारले दैनिक एक हजारको हाराहारीमा इँटा बनाउँछ।यसबापत उनीहरूले एक हजार दुई सय रुपैयाँ पाउँछन्।यस वर्ष गणेशले उद्योगसँग ४५ हजार रुपैयाँ पेस्की अर्थात् ऋण लिएका छन्।यो वर्ष तिर्न सक्ने हो कि होइन भन्ने उनलाई अन्योल छ।

गाउँमा ऋण नपाएपछि

काभ्रे, धुलिखेलका ६३ वर्षीय कृष्णगोपाल खड्गीले श्रीमती र छोराबुहारीका साथमा पछिल्लो एक दशकदेखि यस इँटा उद्योगमा काम गर्छन्।हिउँद लागेसँगै अर्थात् मंसिरदेखि बर्खा लागेसँगै अर्थात् वैशाखसम्म उनीहरू इँटाभट्टामा खटिन्छन्।‘धुलिखेलमा कुनै रोजगारी पाइँदैन।खेती गर्न जग्गा जमिन छैन।भारी बोक्न सकिँदैन,’ कृष्णगोपाल भन्छन्, ‘यहाँ आफूले सक्ने अनुसारको काम पाइन्छ।आवश्यक पर्दा ऋण पनि पाइन्छ।केही आपत् परे गाउँमा त ऋण पनि पाइँदैन।’

यहाँ चाहिएका बेलो उनले अग्रिम ऋण लिन्छन्, जसको ब्याज तिर्नुपर्दैन र काम गर्दै त्यो ऋण तिर्छन्।‘मेरी श्रीमती र हाम्रो जेठो छोरो बिरामी भइरहन्छन्।त्यसैले ९–१० लाख रुपैयाँ ऋण छ, त्यसैले बुढेसकालमा काम गरिरहेको छु,’ कृष्णगोपाल भन्छन्, ‘आम्दानीको स्रोत नभएपछि अरूमा निर्भर हुनुबाहेक अन्य विकल्प नै छैन।’

कृष्णगोपालकी श्रीमती कान्छीमाया शारीरिक रूपले कमजोर छन्, बेला–बेला बेहोस् हुन्छिन्।‘मठ–मन्दिर, धामी–झाँक्री र धेरै अस्पताल पु¥याएँ,’ कृष्णगोपाल भन्छन्, ‘तर, उनी निको भइनन्।कहिले श्रीमती कहिले छोराको उपचारका क्रममा ऋण थपिँदै गएको छ।इँटाभट्टामा काम गर्न सजिलो भने छैन।पानी पर्दा राति–राति बाहिर भाग्नुपर्छ।’ 

यसपटक पानी पर्दा उनले ३०–४० हजार बराबरको ज्यालामा नोक्सानी बेहोनुप¥यो।उनीहरूले इँटा बनाएर च्याङ लगाएर राखेका थिए, पानी परेर बिग्रियो।‘४० हजार रुपैयाँ बराबरको इँटा बनाउन एक महिना लाग्छ,’ कृष्णगोपाल भन्छन्, ‘पानी पर्दा बिग्रन्छ।नबिग्रेको इँटा गनेर मात्रै हामीले ज्याला पाउने हो।’

एक सय बढी पाउने आशामा मोहन

दाङमा एक हजार इँटा बनाएबापत एक हजार एक सय रुपैयाँ पाइन्छ।त्यहाँ माटो आफैँले खनेर इँटा बनाउनुपर्छ।यहाँ अरुले तयार पारिदिएको माटोबाट एक हजार इँटा बनाएबापत एक हजार दुई सय रुपैयाँ पाइन्छ।त्यसैले आफू परिवारसहित दाङदेखि भक्तपुर कामका लागि आएको ४२ वर्षीय मोहन बसेल बताउँछन्।

उनी श्रीमती र दुई छोरा लिएर यहाँ आएका हुन्।उनलाई इँटा बनाउन श्रीमतीसँगै १६ र ६ वर्षका छोराले समेत सघाउने गर्छन्। 
दिन श्रीमती कमला पनि उठ्छिन्।उनीहरूका १६ र ६ वर्षीय दुई छोराले पनि सक्ने सहयोग गर्छन्।उनले दुई छोरालाई इँटा बनाउने काम गरेरै हुर्काएका हुन्।उनले यस उद्योगमा काम गर्न थालेको आठ वर्ष भयो। 

हिउँदको सिजनमा ६ महिनाजति यहाँ इँटा बनाउने काम गरेपछि उनी परिवारसहित दाङ फर्कन्छन् र बर्खामा गाउँमा खेती गर्छन्।घर–व्यवहार चलाउन उनले यस वर्ष अग्रिम ७० हजार रुपैयाँ पेस्की लिएका थिए। 

छोरालाई पढाउन नसकेकामा उनी दुःखी छन्।‘जेठो छोरालाई पढ्न स्कुलमा भर्ना गराए पनि नमानेर यतै आयो,’ उनले भने, ‘कान्छो छोराले विद्यालयमा पाइला टेक्नै पाएको छैन।’ 

दुई छाक टार्न मुस्किल भएपछि 

बनेपाकी ३० वर्षीया ज्ञानु मानन्धर झ्याउलीअगाडि हात धँुदै थिइन्।इँटा बनाइसकेर १ बज्नै उनको खाना खाने समय भएको थियो।‘श्रीमान (कृष्ण मानन्धर) बालुवा ओसार्दै हुनुहुन्छ, उहाँलाई खाना खान पर्खिरहेकी छु,’ उनले भनिन्, ‘दैनिक खाना खाने समय यही हो।’
श्रीमानले जाँड–रक्सी, सुर्ती–चुरोट खाने भएकाले गाउँमा दुई छाक टार्न मुस्किल भएर आफूहरू इँटा बनाउन आएको उनी बताउँछिन्।‘हामीले विवाह गरेको १२ वर्ष भयो।अरुले फकाएको भरमा बिहे गरियो, अनि दुःख पाइहालिन्छ नि,’ उनी भन्छिन्, ‘खेतबारी छैन, खानुपरिहाल्यो।महँगी यस्तो छ, काम यही पाइयो।’

उनीहरूका १२ वर्षकी एक छोरी छन्, जसलाई सासुआमाले बनेपामै पढाइरहेको ज्ञानु बताउँछिन्।ज्ञानुले विवाहपछि इँटाभट्टामा काम गर्न थालेकी हुन्। 

उद्योगमा इँटा बोक्नेहरू 

१० फागुनको साँझपख हातमा पासपोर्ट साइजको कागज बोकेर मजदुरहरू लाइनमा उभिन थाले।दिनभर इँटा बोकेका उनीहरूले साँझपख यति इँटा बोकेँ भनी भर्पाइ गर्नुपथ्र्यो।लाइन उभिएका ४० वर्षीय दाङका खेमबहादुर सुनुवारले भने, ‘आज दिनभर १५ सय इँटा बोकेँ।’ 

यहाँ एक हजार इँटा बोकेबापत तीन सय रुपैयाँ पाइन्छ।यस हिसाबले उनले त्यस दिन चार सय ५० रुपैयाँ कमाएका थिए।उनले विगत सात वर्षदेखि इँटा बोक्ने काम गरिरहेका छन्। 

लोड गरेको मापन सिक्का 

इँटा सम्पूर्ण रूपमा तयार भएपछि बिक्रीका लागि पठाउन गाडीमा लोड गर्नुपर्ने हुन्छ।लोड गर्दा मजदुरले टाउकोमा इँटा बोक्छन्।इँटा बोकेपछि उनीहरूले प्रत्येकपटक एउटा सिक्का जम्मा गर्नुपर्छ।एकपटक गाडीमा इँटा लोड गर्दा प्रवेश गेटमा सानो क्वाइन अर्थात् सिक्का खसाल्नुपर्छ। 

१० फागुनमा ५–६ घन्टा इँटा लोड गरेका थिए, २६ वर्षीय सुरज सरदारले।भारतदेखि आएका सरदारले ६ महिनामा भारत फर्किंदा ४०–५० हजार रुपैयाँ लैजाने गरेका छन्। 

चार सय मजदुर 

‘मैत्री हनुमान इँटा उद्योग’का सञ्चालक हुन्, कृष्णप्रसाद केसी।०५७ सालदेखि सञ्चालित यस उद्योगले वार्षिक ६–७ करोड बराबरको कारोबार गर्ने यस उद्योगका अकाउन्टेन्ट कान्छा तुल्सी बाख्यो बताउँछन्।‘कोभिड महामारीअगाडि अझ राम्रो कारोबार हुन्थ्यो।कोभिडले गर्दा कारोबार घटेको छ, अहिले नाफा छैन,’ उनले भने। 

उनका अनुसार, यस उद्योगले चार सय परिवारलाई रोजगारी दिएको छ।जसमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्ने लगायत छन्।‘एक हजार इँटा बनाएबापत १२ सय रुपैयाँ र एक हजार इँटा बोकेबापत तीन सय रुपैयाँ ज्याला दिन्छौँ,’ उनले भने, ‘मजदुरलाई काम गर्न सजिलो होस् भनेर १० दिनमा एकपटक ज्याला दिने गरेका छौँ,’ उनले भने।

यस उद्योगले पाकेको एउटा इँटालाई १५ रुपैयाँसम्ममा बेच्ने गरेको छ।अलि–अलि पाकेको अर्थात् पूर्ण रातो नभएको इँटा १२–१३ रुपैयाँमा बिक्री हुने उनको भनाइ छ। 

इँटा बनाउन मात्रै होइन, पोल्न पनि मौसमको ख्याल गर्नुपर्ने हुन्छ।‘पानी पर्दा इँटा पोल्ने ठाउँ बिग्रिन्छ।इँटाको आकार पनि बिग्रिन्छ, कतिपय इँटा खेर जान्छ,’ अकाउन्टेन्ट बाख्यो भन्छन्, ‘वर्षा र बढ्दो करले उद्योग बन्द हुने अवस्थामा पुगेको छ।’ 

उनका अनुसार, उद्योगले वार्षिक ६ लाख रुपैयाँ चाँगुनारायण नगरपालिकालाई कर तिर्नुपर्छ।तर, मजदुरका लागि शौचालय, खानेपानीको व्यवस्था राम्रो गरिदिएको उनी बताउँछन्। 

फाेटाे : सुजल बज्राचार्य

भिडियाे : कल्याण थापा

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, वैशाख १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्