को हुन् धिरजप्रताप सिंह?
२०६१ सालमा डिएसपी भएका उनी २०६९ सालमा एसपीमा बढुवा भएका थिए। २०७६ सालमा उनी डिआइजीमा बढुवा भए। गत चैत १ गते उनी एआइजीमा बढुवा भएका थिए। त्यतिबेला उनी तेस्रो वरीयतामा परेका थिए।
काठमाडाैं, चैत १८ : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन्। आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई आइजिपीमा नियुक्त गरेको हो।
तेस्रो वरीयतामा रहे पनि उनी आइजिपीमा नियुक्त भएका हुन्। एआइजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा वरीयतामा उनीभन्दा अगाडि थिए। पोखरेल वरीयताको पहिलो र थापा दोस्रो नम्बरमा थिए। आइजिपी बन्ने दौडमा रहेका चौथो नम्बर वरीयताका रवीन्द्र धानुक पनि उनकै ब्याची हुन्।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआइजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ। नेपाल प्रहरीमा चारजना एआइजी हुने व्यवस्था छ। तीमध्ये सिंह पनि एक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत थिए।
तर सोही नियमावलीमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यलगायतलाई आधार बनाएर निर्णय लिने पनि भनिएको छ। समग्र मूल्यांकनमा बढी अंक आएपछि सिंहलाई आइजिपी बनाइएको बताइएको छ।
२०२४ सालमा दैलेखको बजिौरामा जन्मिएका सिंह २०४९ चैत १२ गते पहिलो नम्बरमा नाम निकालेर प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर तउनी हालका आइजिपी शैलेश थापा सहितको टोलीसँगै २०४९ वैशाखमा निरीक्षकका लागि प्रतिस्पर्धा गरेका थिए। वैकल्पिकमा परेका उनी पछि चैतमा मात्र नियुक्त भएका थिए।
२०६१ सालमा डिएसपी भएका उनी २०६९ सालमा एसपीमा बढुवा भएका थिए। २०७६ सालमा उनी डिआइजीमा बढुवा भए। गत चैत १ गते उनी एआइजीमा बढुवा भएका थिए। त्यतिबेला उनी तेस्रो वरीयतामा परेका थिए।
सिंह अपराध अनुसन्धानका क्षेत्रमा दखल राख्ने अधिकृत मानिन्छन्। उनले प्रहरी सेवाको २९ वर्षको अन्तराल छिचाेल्दा जोखिमयुक्त भनिएका ठाउँहरूको कमाण्ड सम्हालेका छन्।
उनले प्रहरी नायब महानिरीक्षक (डिआइजी) छँदा मधेस प्रदेश र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्व गरेका छन्। उनले पर्सा प्रहरी प्रमुख भएर काम गरे। उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय) को पनि कमान्ड सम्हाले।
प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरेपछि स्वतः अवकाशमा जाने भएकाले उनले अब झन्डै एक वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन्। गत चैतमा उनको सेवा अवधि २९ वर्ष पार भइसेकेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय) को नेतृत्व गरेका थिए। प्रहरी उपरीक्षक (एसपी) छँदा उनले पर्सा र दाङ प्रहरी संगठनको नेतृत्व गरेका थिए।
३० वर्षे सेवा अवधिका कारण हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री आज अनिवार्य अवकाशमा जाँदैछन्। नवनियुक्त आइजिपी सिंहले भोलि (सोमबार) देखि नै प्रहरी प्रमुखको कमान्ड सम्हाल्नेछन्।











