भरतपुर मेयरका स्वतन्त्र उम्मेदवार पौडेललाई चुनाव चिह्न भुइँकटहर
काठमाडौं, वैशाख १७ : निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ। यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा...
काठमाडौं, वैशाख १७ : निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ। यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरूलाई निर्वाचन कार्यक्रमअनुसार आयोगले चुनाव चिह्न वितरण गरेको हो।
११ र १२ वैशाखमा देशभरका विभिन्न स्थानीय पालिकाहरुमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुलाई आज आयोगले चिह्न दिएको हो।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) ले लौरो चुनाव चिह्न पाएका छन्। लौरो चुनाव चिह्न पाएपछि प्रतिक्रिया दिँदै उनले उनले फेसबुकमा लेखेका छन्, ‘चुनाव चिह्न लौरो : बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रस्टाचारीलाई सेकाउन मिल्ने।’
यस्तै भरतपुर महानगरपालिकामा सत्ता गबठन्धनको उम्मेदवारविरुद्ध मेयरमा स्वतन्त्र रूपमा उम्मेदवार दिएका जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिह्न पाएका छन्।
उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री बालकृष्ण खाँण तथा राज्यमन्त्री उमेश श्रेष्ठसमेतले प्रयास गरे पनि उनले मनोनयन फिर्ता लिन अस्वीकार गरेपछि उनको उम्मेदवारी कायमै रहन गएको हो। अब उनले भुइँकटहर चिह्नबाट चुनाव लड्नेछन्।
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आप चुनाव चिह्न पाएका छन्।
निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा हमालले आँप चुनाव चिह्न पाएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा ‘मकैको घोगा’ लिएर स्वतन्त्रबाट उम्मेदवारी दिएका उनी मेयर पदमा कांग्रेसका नृपबहादुर वडसँग निकटतम प्रतिस्पर्धी बनेका थिए।











