Kathmandu Press

‘चुनाव चिह्न लौरो : बुढाबुढीलाई टेकाउन मिल्ने,  भ्रष्टाचारीलाई सेकाउन मिल्ने’

इन्जिनियरसमेत रहेका बालेन र्‍याप गायक पनि हुन्। उनले र्‍यापकै  शैलीमा फेसबुकमा त्यस्तो प्रतिक्रिया दिएको आधा घन्टामै ३० हजारले लाइक दिइसकेका छन्।
‘चुनाव चिह्न लौरो : बुढाबुढीलाई टेकाउन मिल्ने,  भ्रष्टाचारीलाई सेकाउन मिल्ने’

काठमाडौं, वैशाख १७ : काठमाडौं महानगरपालिका मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफूले पाएको चुनाव चिह्न लौरो ज्येष्ठ नागरिकका लागि टेक्ने सहारा र भ्रष्टाचारीलाई दण्ड दिने साधन बन्ने आशय व्यक्त गरेका छन्।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न दिने क्रममा बालेनलाई ‘लौरो’ परेको थियो। सो चुनाव चिह्न प्राप्त गर्नेबित्तिकै उनले आज (शनिबार) सामाजिक सञ्जालमा प्रतिक्रिया दिने क्रममा त्यस्ताे आशय व्यक्त गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘चुनाव चिह्न लौरो  ‘बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रस्टाचारीलाई सेकाउन मिल्ने।’

इन्जिनियरसमेत रहेका बालेन र्‍याप गायक पनि हुन्। उनले र्‍यापकै  शैलीमा त्यस्तो प्रतिक्रिया दिएको आधा घन्टामै ३० हजारले लाइक दिइसकेका छन्।

उनको स्टाटसमा प्रतिक्रिया दिँदै केशव संघर्षले लेखेका छन्, ‘दृष्टिविहीनलाई बाटो देखाउन मिल्ने छुटेछ।’

कुबेर खड्काले रमाइलो पारामा लेखेका छन्, ‘यो लौरोले हानेर स्थापितलाई विस्थापित गर्नुपर्छ।’

दीपक एन्ड बिन्दुको प्रतिक्रिया छ, ‘अब यही लौरोले पुराना नेताहरूलाई लखेटेर नयाँ युवाहरूले देश चलाउनुपर्छ अनि बन्छ देश।’

उनका लागि आएका सकारात्मक कमेन्टमध्ये सबैैजसोमा विजयको शुभकामना व्यक्त गरिएको छ।

देशका ६ वटा महानगरपालिकामध्ये पनि ठुलो महानगरपालिका काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने धेरैजसो गुमनाम भए पनि बालेनको चर्चा भने अत्यधिक हुने गरेको छ।  
   

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्