एमबाप्पेले दुई गोल गर्दा पनि रोकियो पिएसजी

काठमडाैं, वैशाख १७ : फ्रेन्च लिग वानमा च्याम्पियन पिएसजी बराबरीमा रोकिएको छ। शुक्रबार राति भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरेको खेलमा पिएसजी स्टार्सवर्गसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा पिएसजीका एमबाप्पेले दुई गोल गर्दा अर्चरफ हाकिमीले पनि गोल गरे । यता, स्टार्सवर्गका केभिन गामिरो र एन्थोनीले गोल गरे भने अर्को आत्मघाती भएको थियो।
तेस्रो मिनेटमै गामिरोको गोलमा स्टार्सवर्गले सुरुआती अग्रता लियो। २३ औं मिनेटमा एमबाप्पेले गोल खेललाई बराबरीमा ल्याए।
पहिलो हाफ १–१ को बराबरीमा सकियो । ६४ औं मिनेटमा हाकिमीले गोल खेलमा पिएसजीलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि एमबाप्पेले गोल गरेपछि खेलमा पिएसजीले ३–१को अग्रता लियो ।
७५ औं मिनेटमा मार्को भेराट्टीले आफ्नै पोस्टमा गोल गरेपछि स्टार्सवर्गले खेलमा फर्कने अवसर पायो । त्यसपछि इन्जुरी समयमा एन्थोनीले गोल गरेपछि स्टार्सवर्गले २ गोलले पछि परेको अवस्थामा खेललाई ३–३ को बराबरीमा ल्यायो ।
७९ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजीले यसअघि नै लिग उपाधि जितिसकेको छ। स्टार्सवर्ग ५७ अंक जोडेर पाँचौं स्थानमा छ ।











