केशव स्थापितलाई कारबाही गर्न अधिकारकर्मीको माग
काठमाडौं, वैशाख १७ : नेकपा (एमाले)को तर्फबाट कामठाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न अधिकारकर्मीले माग गरेका छन्।महिला पुनःस्थापना केन्द्र (ओरेक) सहित...
काठमाडौं, वैशाख १७ : नेकपा (एमाले)को तर्फबाट कामठाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न अधिकारकर्मीले माग गरेका छन्।
महिला पुनःस्थापना केन्द्र (ओरेक) सहित ४५ वटा संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी स्थापितलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेका हुन्। मेयरका उम्मेदवारले सार्वजनिक कार्यक्रममा युवतीलाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उनीहरुले विरोध जनाएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ।’
काठमाडौंमा आयोजित उम्मेदवारसँगको छलफल कार्यक्रममा स्थापितलाई महिलामाथि यौन दुर्व्यवहार गरिएको विषयमा प्रश्न सोधिएको थियो। उनले त्यसको जवाफमा प्रश्न सोध्ने युवतीसँग अपशब्द बोलेका थिए।
यसअघि काठमाडौंको मेयर छँदा उनले कर्मचारी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। जसका कारणले उनलाई बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीबाट पनि हटाइएको थियो।
अहिले एमालेले उनलाई काठमाडौंको मेयरको उम्मेदवार बनाएको छ। यसको अधिकारकर्मीले विरोध जनाइरहेका छन्।















