Kathmandu Press

गोकर्णमा मध्यरातमा शुरु भयो कान्तिभैरव जात्रा

गोकर्णमा मध्यरातमा शुरु भयो कान्तिभैरव जात्रा

काठमाडौं, वैशाख १७ : राजा मानदेवले चलाई हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा शुक्रबार मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा शुरु भएको छ।

वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु हुने परम्परा छ। चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीयाअर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्छ।

वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासु बुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्छ भन्ने जनविश्वास छ। यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साविकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठ बताए।

Hardik ivf

'यो दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौं,' कान्तिभैरवको गुठियारसमेत रहेका उनले भने।

जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरुपमा सिङ्गारिएको तीनतले खटमा विराजमान गराइन्छ। तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ। परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घर आँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन्।

चतुर्दशीका दिन बिहान गुठियार थकालीले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन्। गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्छन्। साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ।

यसपछि ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ। निकालिएको मूर्तिलाई गुठियारका थकालीबाट बलि चढाइ पूजा गरिन्छ। स्वर्णमय झण्डा र गजूरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ। सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइन्छ। यस अवसरमा बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा घुमाइन्छ।

भातको देवताअर्थात् भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ। तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक÷एक पाथीे भातको देवता बनाउँछन्।

पाक्तापाक्तैको भातलाई झिकेर गुठियार थकालीले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ। भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको स्थानीय रामजी श्रेष्ठ बताउछन्।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्छन्। रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्रालुको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन्। जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको डेढ दशकअघिदेखि जात्रा हेर्दै आउनुभएकी सपना श्रेष्ठ बताउँछन्।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पुर्‍याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको  प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ। (रासस)

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, वैशाख १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्