लालबन्दीमा निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेस कार्यकर्ताद्वारा नारावाजी
काठमाडाैं, बैशाख १६ : सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।नगरपालिकामा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेसकाे तर्फबाट...
काठमाडाैं, बैशाख १६ : सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।
नगरपालिकामा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि कांग्रेसकाे तर्फबाट मेयर पदकाे उम्मेद्वारी दिएका बासुदेव अधिकारीकाे उम्मेद्वारी फिर्ता भएपछि नेता कार्यकर्ताले नारावाजी गरेका हुन्।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच बजेपछि अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी पत्र पठाएकाे मान्य नहुने भन्दै कांग्रेसका नेता कार्यकर्ता त्यसको विरोधमा नाराबाजीमा उत्रिएका हुन्। उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको र उम्मेदवारी फिर्ता लिने समय सकिसकेकाे भन्दै सो पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर नाराबाजी गरिरहेका हुन्।
लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख गरेकाे थियाे। तर प्रधानमन्त्री देउवाले नै उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएपछि अन्योलता सिर्जना भएको छ।
शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ। मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ।











