जिम्बाबे एविरुद्ध ब्याटिङ सुधारमा केन्द्रित हुन्छौं : प्रशिक्षक दसानायके

काठमाडाैं, बैशाख १६ : नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबारबाट टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाबेको ए टिमसँग एकदिवसीय सिरिज खेल्दै छ। यो सिरिज नेपालले विश्वकप लिग–२ अन्तर्गतको आसन्न क्रिकोणात्म सिरिजका तयारीका लागि आयोजना गरेको छ।
मुख्य प्रशिक्षक दसानायकेले जिम्बाबे एविरुद्धको सिरिजमा आफूहरु ब्याटिङ सुधारमा केन्द्रित हुने बताएका छन्। सिरिज अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सिरिज युवाका लागि अवसर भएको उल्लेख गर्दै ब्याटिङ सुधारमा केन्द्रित हुने बताए।
उनले यो सिरिज आसन्न अमेरिका भ्रमणअघि नेपाल टिमका लागि उत्कृष्ट अवसर भएको पनि बताए। यो सिरिजलाई नेपालले आगामी जुनमा हुने विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजको तयारीका रुपमा लिएको उनले बताए।
‘अबको १० महिना हामी धेरै व्यस्त हुनेछौं। लिग–२ मा अब २४ खेल बाँकी छन्। त्यसअघि युवा खेलाडीलाई एक्स्पोजर बढाएर स्तरीय क्रिकेट खेल्न चाहन्छौं,’ दसानायकेले भने। सिरिजका लागि टिममा यू–१९ का खेलाडीहरु पनि समावेश गरेको बताउँदै उनले सिरिज दुवै टिमका लागि नयाँ अनुभवसमेत भएको बताए।
यस्तै, कप्तान सन्दीप लामिछानेले राम्रो तयारी गरेकाले सिरिज प्रतिस्पर्धात्मक हुने अपेक्षा गरे। उनले पपुवा न्युगिनी र मलेसियासँगको सिरिजमा आफूहरुले धेरै प्रयोग गरेको उल्लेख गर्दै अब अमेरिकाको सिरिजका लागि टिम तयार गर्न केन्द्रित हुने बताए।
यता, जिम्बाबे टोलीका प्रमुख प्रशिक्षक डगलास होण्डोले आफूसँग कम अनुभवी र युवा खेलाडी भएको बताउँदै नेपालसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा रहेको बताए। टिममा रहेका खेलाडी राष्ट्रिष्य टिममा पर्न प्रतिस्पर्धामा रहेका आफ्ना खेलाडीका लािग यो चुनौतिपूर्ण अवसर भएको उनले बताए। नेपाल बलियो टिम भएको बताउँदै उनले सिरिज रोमान्चक हुने आशा गरे।











