भरतपुरका पौडेलसहित बागी उम्मेदवार कांग्रेसबाट निष्कासित
काठमाडौं, वैशाख १६ : भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने कांग्रेस नेता जगन्नाथ पौडेल पार्टीबाट निष्कासित भएका छन्।निर्वाचन आयोगले उम्मदेवारी फिर्ताका...
काठमाडौं, वैशाख १६ : भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने कांग्रेस नेता जगन्नाथ पौडेल पार्टीबाट निष्कासित भएका छन्।
निर्वाचन आयोगले उम्मदेवारी फिर्ताका लागि दिएको आज (शुक्रबार) साँझ ५ बजेसम्म उनले उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्कासित भएका हुन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताले दबाब दिए पनि पूर्वसांसदसमेत रहेका पौडेलले मनोनयन फिर्ता लिन अस्वीकार गरे।
उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण, राज्यमन्त्री उमेश श्रेष्ठ चितवनमै पुगेर प्रयास गरेका थिए। पौडेलले अब कुनै हालतमा निर्णयबाट पछि फर्कन नसक्ने बताएका थिए।
कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले आज (शुक्रबार) बिहान विज्ञप्ति निकालेर ५ बजेसम्म बागी उम्मेदवार फिर्ता नभए स्वतः पार्टीको विधानअनुसार निष्कासन गर्ने जनाएको थियो।
कांग्रेस विधानमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिए पार्टीको साधारण सदससमेत नरहने गरी पार्टीबाट निष्काशित हुने व्यवस्था छ।
यही निर्णयअनुसार स्थानीय तह निर्वाचनमा पौडेललगायत सबै बागी उम्मेदवार पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित भएका हुन्।
जनकपुरधाम मेयरमा कांग्रेसबाट बागी उठेका मनोज साह पनि मनोनयन फिर्ता नलिएपछि निष्कासित भएका छन्।











