जनकपुरधाममा बागी उम्मेदवारी दिएका कांग्रेस नेता साहले फिर्ता लिएनन् मनाेनयन

जनकपुर, वैशाख १६ : जनकपुरधाम उपमहानगरपालिका मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस मनोज साहको उम्मेदवारी कायम हुने भएको छ।
निर्वाचन आयोगले उम्मदेवारी फिर्ताका लागि दिएको आज (शुक्रबार) साँझ ५ बजेसम्मको समय गुज्रिएपछि उनको उम्मेदवारी कायम हुने भएको हो।
जनकपुर उपमहानगरका कांग्रेस सभापतिबाट राजीनामा घोषणा गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साहको उम्मेदवारी फिर्ताका लागि गरिएका सबै कसरत असफल भएका छन्।
कांग्रेस नेता विमलेन्द्र निधिले उम्मेदवारी फिर्ता गराउन साहसँग लामो छलफल गरे पनि उनी निर्णयबाट पछि हट्न तयार नभएको बताइएको छ। उनी सम्पर्क कार्यालय खोलेरै चुनावी प्रचारमा लागिसकेको एक नेताले भने।
सत्तारूढ गठबन्धनको निर्णयअनुसार जनकपुरधाम मेयरमा उम्मेदवार जनता समाजवादी पार्टीको भागमा परेको थियो। तर साहले उक्त निर्णय अस्वीकार गर्दै उम्मेदवारी दिएका थिए।
कांग्रेसले बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने चेतावनी दिए पनि उनी उम्मेदवारी फिर्ता गर्न तयार भएनन्।











