उम्मेदवारी फिर्ताका लागि दबाब नदिन दलहरुलाई निर्वाचन आयोगको आग्रह
काठमाडौं, वैशाख १६ : निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दबाब दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरित कार्य हुने बताएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले...
काठमाडौं, वैशाख १६ : निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दबाब दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरित कार्य हुने बताएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की र धरपकड नगर्न दलहरुलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउन डर, धम्की र प्रलोभन दिएको सूचना आएका कारण त्यस्तो गतिविधि नगर्न आग्रह गरेको हो।
‘यस्ता गतिविधिले संविधान र प्रचलित कानूनबमोजिम योग्यता पुगेका कुनै प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकाले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्रमाथि आघात पुर्याउने भएकाले यस्ता हर्कत् नगर्न नगराउन सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ।
आयोगले लिखित बाहेकका अन्य कुनैपनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने जनाएको छ । मनोनयन फिर्ताका लागि आयोगले शुक्रबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ।












