अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध : मन्त्री झाँक्री

काठमाडाैं, वैशाख १६ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो सहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन्।
नयाँ सहरी एजेन्डाको कार्यान्वयन मूल्यांकनसम्बधी संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उहाँले दिगोपन र समानताको भावनाले निर्देशित योजनाबद्ध शहरीकरणले शहरमा मर्यादित रोजगारी, आर्थिक वृद्धि र लगानीका अवसर ल्याउने बताए।
नयाँ सहरी एजेन्डाअनुरूप नेपालले सहरीकरणका लागि राष्ट्रिय मापदण्ड निर्धारणका साथै राष्ट्रिय रणनीति र निर्देशिका लागु गरेको, आवास अधिकार ऐन-२०१८ कार्यान्वयन कार्यान्वयन गरेको तथा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत तीन हजारभन्दा बढी घर निर्माण गरी असुरक्षित अवस्थामा रहेका परिवारलाई हस्तान्तरण गरेको उनले जानकारी दिए।
सन् २०४५ सम्ममा नेट शून्य उत्सर्जन लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धताबारे जानकारी दिँदै सहरी विकासमन्त्री झाँक्रीले प्रदूषण, फोहर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवर्धन गर्न वातावरणमैत्री सहरी विकास योजनामा जोड दिए।
नेपाल भूकम्पीय जोखिममा रहेको र विगतमा अतिशक्तिशाली कम्पन भएकाले पुराना शहरी क्षेत्रलाई भविष्यमा हुने भूकम्पबाट जोगाउन प्रवलीकरण र सुदृढीकरणमा विशेष ध्यान दिइएको उनले बताए।
नयाँ सहरी एजेन्डा कार्यान्वयनका लागि राष्ट्रसङ्घीय प्रणालीलगायत विकास साझेदारलाई वित्तीय र प्राविधिक सहयोग सुनिश्चित गर्न उनले आह्वान गरिन्।











