Kathmandu Press

धनगढीको उपप्रमुखका लागि विष्णुकुमारीको उम्मेदवारी रद्द

काठमाडौं, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।    समानुपातिकको...
धनगढीको उपप्रमुखका लागि विष्णुकुमारीको उम्मेदवारी रद्द

काठमाडौं, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ।  
  
समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए । यसैगरी वडा नं ५ बाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका लक्ष्मी उखेडा, वडा नं ४ बाट महिला सदस्यमा उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का पार्वतीदेवी भाट, वडा नं ६ बाट राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएका सूर्यलाल डगौँराको उम्मेदवारी रद्द भएको छ ।
  
वडा नं ६ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका  दिलीपराज भण्डारीको उम्मेदवारी पनि रद्द भएको छ। वडा नं ७ को सदस्यमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका झगरु राना र वडा नं १९ बाट नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएका देवी स्नेहीको समेत उम्मेदवारी रद्द भएको छ। 
  
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर ओड, नेकपा (एमाले)का रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्। 
  
प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट हुनुहुन्छ । उपप्रमुखको उम्मेदवारी दिनेमा नेकपा (माओवादी केन्द्र)का शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला रानाथारु, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्री देवी चौधरी, राप्रपाका दुर्गादत्त पन्त र स्वतन्त्र प्रभाकर भण्डारी हुन्। 
  
जिल्लाको पूर्वी क्षेत्रको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ। 

सो पार्टीले आधिकारिक उम्मेदवार यकीन गरी पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए।  यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका धीरेन्द्र रावलको उम्मेदवारी पार्टीगतरुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताए। सो नगरपालिको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको छ।    
 
जिल्लाको गोदावरी नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये नौ जनाको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले बताए। १२ वडा रहेको सो नगरपालिकाको प्रमुखमा नौ जना, उप्रमुखमा पाँच, वडाध्यक्षमा ६९, सदस्यमा २२४ जनाले उम्मेदवारी दिएका छन्। 

स्वतन्त्र : ६९ जना 

१९ वडा रहेको उपमहानगरपालिकाका प्रमुखमा तीन, उपप्रमुखमा एक जना स्वतन्त्र उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै वडामा गरी वडाध्यक्ष र सदस्य गरेर थप ६५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। 

वडाध्यक्ष र सदस्यका सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार ५, १४ र १९ नं वडामा छन् । वडा नं ६, १० र १८ का वडाध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी परेको छैन । प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी सबै वडामा विभिन्न दल र स्वतन्त्रसमेत गरी ६१९ ले उम्मेदवारी दिएका छन्। 

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्