Kathmandu Press

मन्त्री बडूद्वारा रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयन गर्न निर्देशन

काठमडाैं, बैशाख १५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयन गर्न मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका...
मन्त्री बडूद्वारा रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयन गर्न निर्देशन

काठमडाैं, बैशाख १५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयन गर्न मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन।

मन्त्रालयअन्तर्गतका सचिव, छ विभाग, सात महाशाखा प्रमुख र सहसचिवसँग आज छलफल गर्दै उहाँले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नं ४२६ मा उल्लेख रहेअनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

छलफल प्रभावकारी बजार अनुगमन, मन्त्रिपरिषद् बैठकले १० वटा कम आवश्यक एवं विलासी उपभोग्य सामानको आयातमा लगाएको बन्देज र आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने गरी भएको निर्णयका विषयमा केन्द्रित थियो।

सो अवसरमा मन्त्री बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्चालनका विषय सधैँ सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन नसकेकाले तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनःसञ्चालनमा ल्याएर राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिणाम नदेखिएकाले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा (मोडालिटी) बनाउन र सम्बद्ध सबै पक्षसित छलफल र सुझाव लिने व्यवस्था मिलाउन निर्देशनसमेत दिए।

मन्त्री बडूले राज्य संयन्त्र र प्रायःसबैको ध्यान चुनावमा केन्द्रित भएको मौकामा अत्यावश्यक उपभोग्य वस्तु (खाद्य सामग्री, तरकारीलगायत) को अस्वभाविक मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव देखाई अनुचित फाइदा लिने प्रवृत्तितर्फ सचेत रहनुपर्ने बताए। साथै उनले सङ्घीय, प्रदेश, जिल्ला तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन पनि निर्देशन दिए।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले कम आवश्यक, विलासी एवं स्वास्थ्यका लागि हानिकारक १० वटा सामानको आयातमा चालू आर्थिक वर्षको असार मसान्तसम्म परिमाणात्मक बन्देज लगाउने कुरा अल्पकालीन भएको र यसलाई आन्तरिक वस्तु उत्पादन तथा उपभोगको अवसरका रुपमा समेत बुझ्न, बुझाउन जरुरी रहेको उनको भनाइ थियो।

आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार साताको दुई बिदा दिने गरी भएको निर्णयका विषयमा उहाँले विभिन्न कोणबाट टिप्पणी भइरहेकाले एक हप्तामा गर्ने काम पाँच दिनमै गर्ने गरी कार्यघण्टा थप गरिएको बताए। मन्त्री बडूले सरकारको सेवा प्रवाहलाई छिटोछरितो बनाउन प्रविधि (डिजिटलाइजेशन) को प्रयोग गर्नुका साथै विदाको दिन कुनै पनि बहानामा सरकारी स्रोत तथा पेट्रोलियम पदार्थको दुरुपयोग नहुने स्थिति सुनिश्चित गर्न आवश्यक मापदण्ड र नियन्त्रणात्मक प्रबन्धसहितको कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन दिए।

प्रकाशित मिति: १९:४८ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्