Kathmandu Press

बन्द प्रशिक्षण छाडेका खेलाडीले भने– हामीले विद्रोह गरेका होइनौं, प्रशिक्षकको आदेश मात्र मानेका हौं

काठमाडौं, वैशाख १५ : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेका १० सिनियरले खेलाडीले आफूहरुले टिममा विद्रोह नगरेको बताएका...
बन्द प्रशिक्षण छाडेका खेलाडीले भने– हामीले विद्रोह गरेका होइनौं, प्रशिक्षकको आदेश मात्र मानेका हौं

काठमाडौं, वैशाख १५ : मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेका १० सिनियरले खेलाडीले आफूहरुले टिममा विद्रोह नगरेको बताएका छन्।

बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरुले आफूहरुले टिममा विद्रोह नगरेको बताउँदै प्रशिक्षकको आदेशको पालना गरेको उल्लेख गरे। मुख्य प्रशिक्षकसँगको विवादपछि क्याम्प छाड्नेमा रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, अञ्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी र अनन्त तामाङ थिए। 

एन्फको होस्टेलमा सुविधा राम्रो नभएकाले आफूहरुलाई होटलमा राख्नुपर्ने विषय रोहित चन्दले अलमुताइरीसँग गरेपछि विवाद सुरु भएको थियो । सोही विषयलाई लिएर अल्मुताइरीले रोहितलाई क्याम्पबाट हटाएपछि अन्य ९ खेलाडीले पनि क्याम्प छाडेका थिए। 

पत्रकार सम्मेलनमा उनीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरू क्याम्प छाड्न बाध्य भएको बताएका छन्।  ‘प्रशिक्षकसँग कुरा गर्दा उहाँले पटक–पटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौं । यसबारे हामीले टिम व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी गराइसकेका थियौं,’ उनीहरुले भनेका छन्, खेलाडीले जारी गरेको विज्ञप्ति भनिएको छ । 

टिममा देखिएको समस्या सुल्झाउन पहल गर्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीले मिडियामा खेलाडी क्याम्पबाट भागे भन्दा आफूहरु अचम्मित परेको उनीहरुले उल्लेख गरेका छन्। उनीहरुले भनेका छन्, ‘राष्ट्रिय टिमभित्रको आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर सार्वजनिक रुपमा नै हाम्रो बारेमा झुठा आरोप लागेपछि हामी सत्य–तथ्यका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरेका हौं।’

‘क्लोज क्याम्पमा नेतृत्व गरेकाले रोहितले सामान्य गास–बास बारे प्रश्न गर्दा जुन व्यवहार गरियो त्यसमा हामी असन्तुष्ट थियौं,’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय टिमका मुख्य प्रशिक्षकले टिमका सदस्य खेलाडीलाई त्यस किमिसिमको व्यवहार गर्नु राम्रो थिएन । त्यसमाथि क्यम्प नै छोडेर जा भन्नु अन्याय पूर्ण हो भन्ने हामीलाई लागेको छ।’

पत्रकार सम्मेलनमा उनीहरुले प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताए।  सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै उनीहरुले अल्मुताइरी नै प्रशिक्षक रहे टिममा फर्किन नसकिने बताए।

पत्रकार सम्मेलनमा चन्दले आफूहरुले कोचलाई हटाउनुपर्छ भनेको बताए । उनले भने, ‘हामीले कोच हटाउ भनेका छैनौं । तर उहाँको अण्डरमा खेल्न हामीलाई गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न भने, हामीलाई पनि उहाँप्रति ट्रस्ट हुन्न।’

रोहित अल्मुताइरी आएपछि टिममा परिवर्तन भने धेरै भएको बताए । पहिलेको तुलनामा धेरै खेलहरु खेल्न पाइरहेको बताउँदै रोहतिले आफूहरुलाई अल्मुताइरीसँग व्यक्तिगत रुपमा समस्या भएको बताए। यसैगरी अनन्त तामाङले अल्मुताइरीले प्रशिक्षकले मैदान भित्र नभइ मैदान बाहिर पनि समस्या निकालेको आरोप छ लगाए। ‘‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई दबाब दिइयो,’ उनले भने, ‘यस्तो अभ्यास विश्वको फुटबलमा कही कतै पनि छैन ।’ 

‘यस्तै सुजल श्रेष्ठले आफूहरुलाई मिडियामा भगौडा र विद्रोहीको ट्याग पाउदा दुख लागेको बताए । उनले रोहितलाई टिममा फर्काउनु पर्छ भनेर आफूहरु मिडियामा नआएको प्रष्ट पारे।  ‘भगौडा र विद्रोहीको ट्याग पाएपछि हामीले यसबारे बोल्न पर्छ भन्ने लाग्यो र हामी त्यसैको स्पस्टिकरणका लागि आएका हौं । रोहितलाई टिममा ल्याउनै पर्छ भनेर हामी आएका होइनौं’ सुजलले भने, ‘रोहितले होटलको बारेमा कुरा उठाएकाले उनलाई निस्केर जा भने । हाम्रो न्युनतम आवश्यकता पनि पूरा भइरहेका छैन ।’

प्रकाशित मिति: १९:४७ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्