ट्यांकरको ठक्करले साइकलयात्रीको मृत्यु

भरतपुर, वैशाख १५ : भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्यांकरले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नम्बरको ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका-५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।
प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












