५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा आमाको मृत्यु, छोरा घाइते
मोरङ, वैशाख १५ : मोरङ सुन्दर हरैंचा नगरपालिका-९ विराटचोक घर भई हाल मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा-छोरा एकैसाथ ५० मिटर...
मोरङ, वैशाख १५ : मोरङ सुन्दर हरैंचा नगरपालिका-९ विराटचोक घर भई हाल मध्यपुर थिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा-छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हाम फाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्।
कमेरोटारस्थित डेरा कोठानजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
पर्खालबाट हाम फाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेसनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उनले जानकारी दिए।
घटनास्थलमा सुसाइट नोटसमेत भेटिएको छ। यसबारे बुझ्दा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए।
त्यस्तै आज ओखलढुंगा सुनकोसी गापा-९ घर भई हाल मध्यपुर थिमि नगरपालिका-३ कौशलटारमा डेरा गरी बस्ने ५० वर्षीय लालविनोद कटुवाल शौचालयमा लडेर मृत्यु भएको छ।
शौचालयमा लडेर घाइते भएका कटुवालको भक्तपुर इन्टरनेसनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।












