भोट माग्न घरदैलो अभियानमा उम्मेदवार
महेन्द्रनगर, वैशाख १५ : स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान शुरु गरेका छन्।राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा...
महेन्द्रनगर, वैशाख १५ : स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान शुरु गरेका छन्।
राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान शुरु भएको छ। भीमदत्त नगरपालिकामा नेकपा (एमाले) बाट नगरप्रमुखका उम्मेदवार महेशप्रसाद पन्त र उपप्रमुखका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान शुरु गरिसकेका छन्।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट नगर प्रमुखका उम्मेदवार राजेन्द्र पाण्डेय र उपप्रमुखका उम्मेदवार कृष्णदत्त जोशीले पनि टोलटोलमा पुगेर भोट मागिरहेका छन्।
त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका–१ रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम शुभारम्भ गर्दै छ। आजबाट सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टोली सहभागी हुँदै छ।
अन्य स्थानीय तहलमा पनि उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। बेलौरी र पुर्नवास नगरपालिकामा पनि घरदैलो अभियान सुरु भइसकेको छ।
शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान थालेका छन्।
नौवटै पालिकामा कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाको उम्मेदवारी परेको छ। भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन्।
दोधारा चाँदनी नगरपालिकामा आठ जनाले र बेदकोट नगरपालिकामा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ्
त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवारी परेको छ। कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन्।
बेलौरी नगरपालिकामा ६ तथा पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । लालझाडी गाउँपालिकामा ६ तथा बेल्डाँडी गाउँपालिकामा ६ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ। (रासस)












