Kathmandu Press

३५ सञ्चारमाध्यम र चार वेबपोर्टललाई काउन्सिलको कारबाही

काठमाडौं, वैशाख १४ : प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ। साथै दर्ता नभएका चार वेबपोर्टललाई मुलुकभित्र...
३५ सञ्चारमाध्यम र चार वेबपोर्टललाई काउन्सिलको कारबाही

काठमाडौं, वैशाख १४ : प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ। साथै दर्ता नभएका चार वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ। 

सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिए तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ। 

निर्वाचन आचारसंहिता लागु भएपछि काउन्सिलले देशभरका सञ्चारमाध्यमहरूबाट आचारसंहिता पालना भएनभएको विषयमा विशेष अनुगमन गरिरहेको छ।

Hardik ivf

गत चैत २६ देखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यममध्ये चारवटालाई २४ घन्टे स्पष्टीकरण माग गरिएकोमा दुईवटाबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन भएको काउन्सिलले जनाएको छ।

दुईवटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलको भनाइ छ।

यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपछि पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकाले सचेत गराइएको छ। त्यस्तै चारवटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ।

दल तथा उम्मेदवार बारे सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्‍याउनु सञ्चारमाध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउनेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ।   

‘तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउनेतर्फ सबै सञ्चारमाध्यमहरूले विशेष ख्याल गर्नुपर्छ। निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनुपर्छ,’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने। 
   
काउन्सिलले दल तथा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण नगर्न/नगराउन, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालबाट समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्ननगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अनुरोधसमेत गरेको छ। 

 

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्