Kathmandu Press

एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाको उद्घाटन

एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाको उद्घाटन

काठमाडाैं, बैशाख १३ : सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिले आज एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसिए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार हो। एमसिए–नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा रहेको छ।

Hardik ivf

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाको संयुक्तरूपमा उद्घाटन गरेका हुन।

 उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा  कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको रु छ अर्ब ३८ करोड अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुसी व्यक्त गरे।  

यसैगरी युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष ब्रुक्सले भने, 'नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको छ। यी अत्याधुनिक प्रयोगशालाको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ।'

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले सडक मर्मतका लागि पहिलोपटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गरे। सो प्रयोगशालाको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण कार्य सरकार तथा एमसीसीबीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताअन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो।

एमसिए–नेपालले सडक विभागलाई सडक मर्मत आयोजनाअन्तर्गत करिब रु ४४ करोड ५३ लाख बराबरको प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सो सहयोग सडक विभागका लागि प्राविधिक सहयोग, यातायात तथा सडकको भारवहन क्षमता मापनका लागि सो विभागको सूचना प्रविधि एकाइको सबलीकरण र सडक मर्मतसम्बन्धी नयाँ प्रविधि तथा उन्नत आयोजना व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालनमा परिचालन गरिनेछ।

करिब १६ करोड ५९ लाख मूल्यको सुपरपेभ आस्फाल्ट मिक्स डिजाइनसम्बन्धी उपकरण तथा फलिङ वेट डिफ्लेक्टो मिटरलगायतका उपकरण जडान गरिएको उक्त प्रयोगशाला भवन करिब ७३ लाख २० हजारको  लागतमा निर्माण गरिएको हो। प्रयोगशालामा जडान गरिएका उपकरण सडक विभागद्वारा सञ्चालन गरिने सडक मर्मत आयोजनासम्बन्धी क्रियाकलाप तथा सडक विभागका प्राविधिज्ञहरूका लागि नियमितरूपमा सञ्चालन गरिने प्रशिक्षणका लागि प्रयोग गरिनेछ।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्