पनौती नगरपालिकाको मेयरमा ११ जनाको उम्मेदवारी

काभ्रे, वैशाख १३ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सोमबार सम्पन्न मनोनयनमा प्रमुख राजनीतिक दलमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) आ–आप्mनो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् भने अन्य साना राजनीतिक दललगायत स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय पनौतीले जनाएको छ।
उम्मेदवारमध्येमा नगर प्रमुख पदको लागि मात्रै ११ को उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गोविन्दप्रसाद घिमिरेले बताए। उनका अनुसार गठबन्धन दलबाट प्रमुख पदमा नेपाली कांग्रेसका रामशरण भण्डारीले उम्मेदवार दर्ता गराएका छन्, भने नेकपा (एमाले)को तर्फबाट भीम न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । न्यौपाने यसअघिको नगर प्रमुखमा निर्वाचित भएका थिए।
त्यस्तै अरु दलबाट गणेशकुमार कपाली नेकपा मालेबाट, भरत आचार्य नेपाल सुशासन पार्टी, भूषणकुमार श्रेष्ठ विवेकशील साझा पार्टी, राजेन्द्र थापा उन्नत लोकतन्त्र पार्टी, विजय तामाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, शिवराम बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तथा स्वतन्त्र रुपमा सीताराम हुमागाईं, शम्भू राउत र विजयराम कर्माचार्यले मनोनयन दर्ता गराएका छन्।
उपप्रमुखमा भने ३ ले मात्रै उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा गठबन्धनको तर्फबाट उपप्रमुखमा एकीकृत समाजवादीका छविलाल हुमागाईँ तथा एमालेबाट गीता बञ्जाराले मनोनयन दर्ता गराउनुभएको छ । बञ्जारा यसअघिको निर्वाचित उपप्रमुख छन्।
त्यस्तै कल्पना घिमिरे श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । नगरको १२ वडामा ६१ ले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।












