Kathmandu Press

गोकर्णेश्वर नगरपालिकाले पाँच वर्षमा के गर्‍यो ?

नगरपालिकाले नगरवासीलाई सीप मात्र सिकाएकाे छैन उद्यमी पनि बनाएको छ ।
गोकर्णेश्वर नगरपालिकाले पाँच वर्षमा के गर्‍यो ?

काठमाडाैं, वैशाख १३ : आइतबार (वैशाख ४) बिहान गोकर्णेश्वर नगरपालिका¬का नगरप्रमुख सन्तोष चालिसेको कार्यकक्षमा सेवाग्राहीको भीड थियो । स्थानीयवासी विभिन्न कामले प्रमुखलाई कुरिरहेका रहेछन् । तीमध्ये एक थिइन्, वडा ८ की स्थानीय विमला श्रेष्ठ । उनले स्थानीय स्तरमा महिलालाई विभिन्न सीप सिकाउन नेतृत्व गर्दै आएकी रहिछिन् । उनी आगामी निर्वाचनमा वडा ८ को सदस्यका लागि उम्मेदवारी दिने सोचमा छिन् । ‘यसै सम्बन्धमा उहाँ (प्रमुख)सँग सल्लाह गर्न आएकी हुँ,’ उनले भनिन्।

१२ बज्नै लाग्दा कार्यालय प्रमुख चालिसे आइपुगे । उनले पहिले नै फोनमार्फत हामीलाई समय दिएका थिए । उनी प्रमुख भएपछि नगरपालिकामा के कति काम भए भनी जानकारी लिनु थियो ।

उनले प्रफुल्ल मुद्रामा आफ्नो कार्यकालमा प्रशस्त काम भएको बताए । ‘हामी आउनुअघि २० वर्ष कर्मचारीले मात्र स्थानीय तह चलाएका थिए । बजेट नभएको केही काम हुन नसकेको अवस्था थियो। नगरपालिकाभित्रका सडकदेखि लिएर शिक्षा, स्वास्थ्य आदिमा सुधार हुन सकेको थिएन,’ उनले भने, ‘अहिले नगरपालिकाले विगतको अवस्थालाई बिसाईदिएको छ।’

Hardik ivf

आफू प्रमुख भएपछि स्वास्थ्य, शिक्षा, फोहोरमैला व्यवस्थापन, खेलकुदको लगायत सबै क्षेत्रलाई समेटेर काम गरेको उनी बताउँछन् ।  प्रमुख चालिसे भन्छन्, ‘नगरपालिकाले नगरवासीलाई सीप मात्र होइन उद्यमी पनि बनाएको छ ।’

आफ्नो कार्यकालमा राजस्व संकलनमा व्यापक वृद्धि भएको उनी बताउँछन् । ‘पहिले वार्षिक रूपमा सात करोड रुपैयाँ राजस्व संकलन हुन्थ्यो, अहिले ६० करोड पुगेको छ,’ उनले भने, ‘हामीले कानुन बनाएर कर नतिर्नेलाई दायरा ल्यायौँ । तोकिएको कर तिर्न बाध्य पा¥यौँ ।’

कर उठेकाले विकास निर्माणका काम गर्न सहज भयो । नगरपालिकाको खर्चमा गोकर्णेश्वर मन्दिरमा १७ करोड रुपैयाँको सुनको छाना राखिएको, नगरपालिकाका नौवटै वडामा नयाँ कार्यालय भवन निर्माण गरिएको उनी बताउँछन् । ‘सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न मठ–मन्दिर पुनर्निर्माण र मर्मतका काम ग¥यौँ,’ प्रमुख चालिसे भन्छन्, ‘लोपोन्मुख बाजालाई पनि तालिम दिएर पुनः संरक्षण गरेका छौँ।’

केही प्रमुख काम

आफूहरु आएपछि नगरपालिका स्वस्छ भएको प्रमुख चालिसेको दाबी छ । उनका अनुसार, नगरपालिकाले १४ करोड रुपैयाँमा जापानबाट फोहोर जलाउने मेसिन खरिद गरेको छ । ‘नगरपालिकाको सबै फोहोर जलाउन तीनवटा मेसिन आवश्यक पर्दछ । अहिले नगरपालिकाको एक चौथाइ फोहोर जलाउँछौँ,’ उनले भने, ‘फोहोर व्यवस्थापन नहुँदासम्म फोहोर जलाउने मेसिन उपयुक्त छ ।’

नगरपालिकाले नगरस्तरीय ‘नगरशिक्षा’ पाठ्यक्रम समेत तयार गरेको छ । यसलाई प्रमुख चालिसे नगरपालिकाको अर्को उपलब्धिमूलक कार्य ठान्छन् । ‘नगरपालिकाभित्रका धार्मिक–संस्कृति, पर्यटकीय क्षेत्र, पुराना भाषालाई समेटेर पाठ्यक्रम तयार पारिएको छ,’ उनी भन्छन्, ‘पछिल्लो तीन वर्षदेखि नगरभित्रका निजी तथा सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्म नगरशिक्षा समावेश गरेका छौँ।’  

नगरपालिकाले ‘डिजिटल डाटा’ सर्वेक्षण गरेको छ । प्रमुख चालिसेका अनुसार, पहिले नगरपालिकासँग महिलासम्बन्धी कुनै तथ्यांक थिएन । ‘महिलालाई कार्यक्रम दिनुपरे महिला कति छन् भन्ने समेत थाहा थिएन,’ उनले भने, ‘अहिले महिला, बालबालिका, अपांग, ज्येष्ठ नागरिक, कृषक लगायत शीर्षकमा तथ्यांक संकलन गरेका छौँ । हरेक समुदायको तथ्यांक भएपछि योजना बनाएर काम गर्न सहज हुन्छ।’

उनका अनुसार, ठूलो रकम खर्च गरी तथ्यांक संकलन गरिएको हो। अहिले प्रत्येक घरमा नम्बर टाँसिएको छ । नम्बरका आधारमा तथ्यांक हेर्न सकिने उनी बताउँछन् ।

आफ्नो कार्यकालमा नगरपालिकाले सडक निर्माणमा उल्लेख्य प्रगति गरेको उनको दाबी छ। ‘अहिले नगरपालिकाभित्रका मुख्य सडक र भित्री सडक धेरै स्थानमा कालोपत्रे तथा ढलान भएको छ,’ उनले भने, ‘लामो समयदेखि हुन नसकेको बौद्ध–जोरपाटी सडकखण्ड समेत हामीले कालोपत्रे ग¥यौँ।’

आफ्नो नेतृत्वमा नगरपालिकामा धेरै काम भएको र अझै गर्न बाँकी पनि थुप्रै काम रहेकाले उनी पुनः एकपटक प्रमुखको जिम्मेवारी सम्हाल्न चाहन्छन् । ‘यसपालि पनि गोकर्णेश्वरको प्रमुखमा उम्मेदवारी दिने तयारीमा छु,’ उनी भन्छन्, ‘पुनः प्रमुख भएर अधुरा काम पूरा गर्ने योजना छ।’

प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्