Kathmandu Press

पोखरा महानगरको मेयरमा ११ र उपमेयरमा चार जनाको उम्मेदवारी

पोखरा, वैशाख १२ : भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन मेयरमा ११ र उपमेयरमा चार...
पोखरा महानगरको मेयरमा ११ र उपमेयरमा चार जनाको उम्मेदवारी

पोखरा, वैशाख १२ : भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन मेयरमा ११ र उपमेयरमा चार जनाको मनोनयन दर्ता भएको छ।

ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता नगरे पनि साना र स्वतन्त्र उम्मेदवारले शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्।

मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गोविन्द गुरुङ, मौलिक जरो किलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीका भोजराज खनाल, मङ्गोल नेशनल अर्जनाइजेसनका प्रेमबहादुर गुरुङ र नेपाल जनता दलका मुक्तिनाथ सुवेदीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सूचना अधिकारी नील पनेरुले जानकारी दिए।

यसैगरी स्वतन्त्र उम्मेदवार खडकराज पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बाँस्तोला र किशानसिंह गुरुङले मनोनयन गराएका छन्।

त्यस्तै, उपमेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चिना दवाडी, सचेत नेपाली पार्टीका सोनी परियार, मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर तामाङ र स्वतन्त्र सोममाया विकले मनोनयनपत्र दर्ता गराएका छन्। पोखरामा पहिले दिन ४७ जनाको उम्मेदवारी परेको छ।

जिल्लाका प्रमुख राजनीतिक दलले भने उम्मेदवार टुङ्गो लगाउन नसक्दा पहिलो दिन उम्मेदवारी दर्ता गराएनन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको सत्तारुढ गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जिल्लाका कुनै पनि पालिकामा मनोनयन दर्ता गराएका छैनन्। (रासस)

प्रकाशित मिति: ०६:४९ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्