Kathmandu Press

सुदूरपश्चिमका दुई पालिकामा उम्मेदवारी दर्ता भएन

कैलाली, बैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गर्ने आज पहिलो दिन कैलाली जिल्लाका दुई पालिकामा कसैको पनि उम्मेदवारी...
सुदूरपश्चिमका दुई पालिकामा उम्मेदवारी दर्ता भएन

कैलाली, बैशाख ११ : आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गर्ने आज पहिलो दिन कैलाली जिल्लाका दुई पालिकामा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन।

चुरे गाउँपालिकाका निर्वाचन अधिकृत राईभान कुञ्जेडाले आज उम्मेदवारी दर्ता गर्न कोही व्यक्ति नआएको जानकारी दिए। उनले भने, ‘उम्मेदवारी मनोनयनको फाराम पनि कसैले लगेका छैनन्, सोमबार उम्मेदवारी दर्ता गराउने तयारी गरिएको भन्ने कुरा सुनिएकाले आज पहिलो दिन कोही नआएको हुनसक्छ।’

Hardik ivf

जिल्लाको कैलारी गाउँपालिकामा पनि आज कसैको उम्मेदवारी दर्ता भएको छैन । निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले कसैको उम्मेदवारी नपरेको बताए। नेपालले भने, 'भोलिसम्म उम्मेदवारी दर्ता गराउन आउने भन्ने जानकारी आफूलाई आएको छ।'

गठबन्धन गरेर सहमति जुटाउन भइरहेको ढिलाइले आज उम्मेदवारी दर्ता गराउन कोही नआएको बताइएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिकामा आज एक जनाले मात्र स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन।

जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी नगरपालिका, बर्दगोरिया, जानकी, जोशीपुर गाउँपालिकामा भने विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ।  

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका प्रमुख राजनीतिक दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने तयारी गरिरहेको ती दलको नेताले बताएका छन्। यही वैशाख ३० गते हुने निर्वाचनमा जिल्लाका १३ स्थानीय तहका ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो।

भौगोलिक रूपमा विकट पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा भने सञ्चार सम्पर्क हुन नसकेको कारण उम्मेदवारी दर्तासम्बन्धी विवरण प्राप्त हुन सकेको छैन। आज पहिलो दिन सहरी क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा केही चहलपहल देखिए पनि ग्रामीण क्षेत्रका पालिका तहका निर्वाचन कार्यालय प्रायः सुनसान थिए। निर्वाचनका लागि निर्वाचन आयोगले दुई दिन उम्मेदवारीको मनोनयन दर्ता गर्ने दिन तोकेको छ।

प्रकाशित मिति: १९:४१ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्