मनोनयनको पहिलो दिन ठूला दलले गरेनन् उम्मेदवारी दर्ता
बलेवा, बैशाख ११ : स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलले १० वटै स्थानीय तहमा उम्मेदवारी दिएका छैनन्।उम्मेदवार टुङ्गो नलाग्दा...
बलेवा, बैशाख ११ : स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन बागलुङका ठूला राजनीतिक दलले १० वटै स्थानीय तहमा उम्मेदवारी दिएका छैनन्।
उम्मेदवार टुङ्गो नलाग्दा नेकपा एमाले र सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी नदिएका हुन्। आज केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्। पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसान बने। उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिए।
सत्ता गठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन। नेकपा एमालले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन नसक्दा मनोनयन रोकिएको हो। सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालले उम्मेदवारी दर्ता गरेको छैन।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी नेकपा एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले पनि सर्वसम्मत उम्मेदवार टुङ्गो लागेको स्थानीय तहमा एमालेले उम्मेदवारी दर्ता नगरेको हो। पहिलो दिन जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोका क्षेत्री, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए। वडा नं ६ मा राप्रपाका यामबहादुर क्षेत्री, वडा नं ९ मा मङ्गोलियन नेशनल अर्गनाइजेसनका सहवीर थापाले उम्मेदवारी दिएकाे उनले बताए।
बागलुङ नगरपालिकाको उपप्रमुखमा तारादेवी रिजालले उम्मेदवारी दिएका छन। उनले स्वतन्त्र उम्मेदवारी दिउका हुन। ढोरपाटन नगरपालिकामा रापपाका नीमबहादुर भण्डारीले मात्रै उम्मेदवारी दिएका छन। काठेखोला गाउँपालिका–५ बिहुँको वडाध्यक्षमा होमनाथ कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन।
जिल्लाको तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन अधिकृतले बताए। बडिगाड गाउँपालिका–५ को अध्यक्षका लागि राप्रपाका शङ्खर खरेल र वडा सदस्यमा सीता आचार्यले उम्मेदवारी दर्ता गराएका छन।












