काभ्रेमा गठबन्धनबीच भागबण्डा टुंगियो, कुन दललाई कुन पालिका ? (सूचीसहित)
कांग्रेसलाई ७, माओवादीलाई ४ र एकीकृत समाजवादीलाई २ स्थानीय तहको नेतृत्व दिने गरी भागबण्डा टुंग्याइएको छ।
काठमाडौं, वैशाख ११ : सत्तारुढ गठबन्धन दलले काभ्रेको १३ वटै स्थानीय तहमा भागबण्डा टुंग्याएको छ। आइतबार नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै स्थानीय तहको भागबण्डा टुंगो लगाएको हो।
काभ्रेमा गठबन्धनको जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई भने तालमेलमा सहभागी गराइएको छैन । जिल्लामा दुई पार्टीको खासै प्रभाव नभएका कारण पनि प्रमुख र उपप्रमुख पदमा सहभागिता नदेखिएको हो।
कांग्रेसको भागमा ४ नगरपालिका र ३ गाउँपालिका
गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिकामा नेतृत्व लिने भएको छ। त्यस्तै २ नगरपालिकाको उपप्रमुख र ४ गाउँपालिकाको उपाध्यक्ष पनि कांग्रेसले पाउने भएको छ।
भागबण्डाको अन्तिम निर्णयानुसार कांग्रेसले बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र नमोवुद्ध नगरपालिकाको मेयर पाउने भएको छ । त्यस्तै तेमाल, बेथानचोक र रोशी गाउँपालिकाको उपाध्यक्ष कांग्रेसको भागमा परेको छ।
माओवादीलाई ४ गाउँपालिकाको नेतृत्व
नेकपा माओवादी केन्द्रले भने कांग्रेसको ६ मध्य कुनैपनि नगरपालिकाको प्रमुख पद नपाउने भएको छ। प्रदेशको निर्णयानुसार माओवादी केन्द्रले खानीखोला गाउँपालिका, चौरी देउराली गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकाको नेतृत्व पाउने भएको छ। त्यस्तै पाचखाल नगरपालिका, नमोवुद्ध नगरपालिका उपमेयर पाउने भएको छ। माओवादी केन्द्रले तेमाल, बेथानचोक र रोशी गाउँपालिकामा उपाध्यक्ष पाएको छ।
दुई नगरपालिका र जिसस प्रमुखमा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले दुई नगरपालिकाको प्रमुख र उपप्रमुख पद पाउने गरि सहमति भएको छ । उसले धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा प्रमुख र बनेपा र पनौती नगरपालिकाको उपप्रमुख पद पाउने निर्णय भएको छ।
गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले काभ्रे जिल्ला समन्वय समितिको प्रमुख पनि एकीकृत समाजवादीलाई दिने भएको छ।











