Kathmandu Press

चालु आर्थिक वर्षमा ३४ गैंडा मरे

चितवन, वैशाख ११ : चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्। दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका...
चालु आर्थिक वर्षमा ३४ गैंडा मरे

चितवन, वैशाख ११ : चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्। दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए।

सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैंडा मरेको तथ्याङ्क छ।

Hardik ivf

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन्। बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उनले जानकारी दिए।

गैँडाको सङ्ख्या बढेसँगै प्राकृतिक कारणले मर्ने सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ। निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम भइरहेको तिवारी बताउँछन्।

वर्षाको समयमा प्राकृतिक कारणबाट धेरै गैँडा मर्ने गर्दछन्। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा प्राकृतिक मृत्यु त्यसै क्षेत्रमा बढी हुने गरेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पश्चिमी क्षेत्रका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताए। पानी र घाँसे मैदान व्यवस्थापन राम्रो गरेर पश्चिमका केही गैँडा पूर्व लैजानसकेमा प्राकृतिक मृत्यु केही घटाउन सकिने निकुञ्ज प्रशासनको अनुमान छ।

पछिल्लो गणना अनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा रहेका छन् । कूल सङ्ख्या ७५२ रहेको छ।

प्रकाशित मिति: १३:२२ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्