Kathmandu Press

धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

म्याग्दी, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन्। दुवै पार्टीका पालिकास्तरका...
धवलागिरिमा कांग्रेस–माओवादी तालमेल

म्याग्दी, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन्। 

दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा  कांग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् । 

Hardik ivf

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए। गाउँपालिका अध्यक्षको उम्मेदवारमा कांग्रेसका पालिका सभापति प्रेम पुन चयन भएका छन्। 

उपाध्यक्षमा माओवादीका गाउँपालिका सचिव रेशम पुनलाई उम्मेदवार बनाउन सिफारिस भएको छ । कांग्रेसले वडा नं ३ को अध्यक्षमा देवेन्द्र रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २, ४ र ५ नं वडाको अध्यक्षका उम्मेदवार छनोट हुन बाँकी छ । 

माओवादीले वडा नं ६ मराङमा चक्र पुन र वडा नं ७ ताकममा अशोक खत्रीलाई वडाध्यक्षको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो । माओवादीको भागमा परेको वडा नं १ गुर्जाको वडाध्यक्षमा हालका वडाध्यक्ष झक छन्त्याललाई दोहो¥याउने भएको छ । 

कांग्रेसको भागमा परेको वडा नं ५ मल्कवाङको वडाध्यक्षमा अमर छन्त्याललाई उम्मेदवार बनाएको छ । दुई दलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई पनि वडा तहमा समावेश गर्ने निर्णय गरेका छन् । कार्यपालिका सदस्य पनि बाँडफाँट गर्ने दुई दलको सहमति छ । 

दश हजार ९४० मतदाता भएको धवलागिरिमा १२ मतदानस्थल र १६ मतदान केन्द्र छन्।  सत्ता साझेदार दलले गत चैत २४ गते जिल्लाका छवटै स्थानीय तह र ४५ वटै वडामा साझा उम्मेदवार चयन गर्ने सैद्धान्तिक सहमति गरे पनि पालिका र वडा बाँडफाँटमा कुरा नमिलेपछि अन्य पालिकामा एकल उम्मेदवारी सिफारिस, छनोट र घोषणा गरिरहेका छन्। 

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्