केही काम भएन भन्नेले आँखा चिम्लेर हेरे : प्रधानमन्त्री
काठमाडौं, असोज २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका लागि धेरै काम भएको बताएका छन्। केही भएन भन्नेहरुले आँखा चिम्लिेर हेरेको उनको भनाइ थियो।
....
काठमाडौं, असोज २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका लागि धेरै काम भएको बताएका छन्। केही भएन भन्नेहरुले आँखा चिम्लिेर हेरेको उनको भनाइ थियो।
बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भृकुटी मण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश निर्माणमा लाग्नु पर्ने बताए।
‘हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
आफ्नो सरकारले जनताका लागि थुप्रै काम गरेको उनको भनाइ थियो। ‘जनताका लागि धेरै काम भएका छन्,’ प्रधानमन्त्रीले केही काम गणना गर्दै भने, ‘जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन्।’
उनले सरकारले काम गरेको नरुचाउनेहरुले विरोध गरिरहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरे, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका देख्नेछन्।’
उनले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको दाबी गरे।






