प्रदेश लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन
सुर्खेत, वैशाख ११ : मुलुक संघीय संरचनामा गएयता कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले पहिलो पटक परीक्षा सञ्चालन गरेको छ।आयोगले विविध सेवाअन्तरगत खुला...
सुर्खेत, वैशाख ११ : मुलुक संघीय संरचनामा गएयता कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले पहिलो पटक परीक्षा सञ्चालन गरेको छ।
आयोगले विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो। प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५-५१६/०७८/०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो।
सो विज्ञापन अनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भुपेन्द्र थापाले जानकारी दिए। परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको उनले बताए।
प्रदेश निजामती तथा स्थानीय सेवाअन्तरगत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो। ती मध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको उनले बताए।
आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले संघीयताको इतिहासमा पहिलो पटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताए। आफ्नै सरकार अन्तरगत गठित प्रदेश लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीलाई संघीयताको अनुभूति गराएको उनको भनाइ छ। (रासस)












