Kathmandu Press

आज १६औं लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं, वैशाख ११ : आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।२०५९ जेठ ८ गते विघटन भएको संसद्लाई राजा ज्ञानेन्द्रले...
आज १६औं लोकतन्त्र दिवस देशभर मनाइँदै
दोस्रो जनआन्दोलन सफल भएको दिन खुलामञ्चमा जनसागर। फाइल तस्बिर

काठमाडौं, वैशाख ११ : आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

२०५९ जेठ ८ गते विघटन भएको संसद्लाई राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते पुनस्थापना गरेका थिए। त्यहि दिनको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेको थिएन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो।

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भयो। २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो।

२०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित भयो।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो।

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।

संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

 

प्रकाशित मिति: ०६:२१ बजे, आइतबार, वैशाख ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्