Kathmandu Press

जनप्रतिनिधिको दलीय हैसियत चुनाव चिह्नअनुसार, राप्रपा नेपालको अस्तित्व संकटमा

कमल थापाको राप्रपा नेपालले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति गरेको थियो। आयोगको प्रष्टिकरणपश्चात सूर्य चिन्हबाट निर्वाचित भएका राप्रपा नेपालका उम्मेदवारलाई एमालेले चाहेको अवस्थामा कारवाही गर्न सक्छ।
जनप्रतिनिधिको दलीय हैसियत चुनाव चिह्नअनुसार, राप्रपा नेपालको अस्तित्व संकटमा

काठमाडौं, वैशाख १० : निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिको दलीय हैसियत चुनाव चिन्हको आधारमा हुने बताएको छ।

शनिबार आयोजित पक्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया जनप्रतिनिधि जुन चुनाव चिन्हबाट बिजयी भएका हुन, दलीय हैसियत पनि सोही चिन्हका आधारमा हुने बताएका हुन्। 

निर्वाचन आयोगले गठबन्धन र तालमेल नचिन्ने थपलियाले बताए। ‘उनीहरु जुन चिन्हबाट निर्वाचित भएका हुन्, भविष्यमा दलीय हैसियत पनि उही हुन्छ,’ थपलियाले भने,‘गठबन्धन र तालमेलको नाममा अर्कै दलको चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा निर्वाचित भए निर्वाचित  जनप्रतिनिधिको दलीय हैसियत सोही चुनाव चिन्ह अनुसार हुन्छ।’

आयोगको व्याख्याले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई क्षति पुग्ने भएको छ। केही दिनअघि कमल थापाको राप्रपा नेपालले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति गरेको थियो। आयोगको प्रष्टिकरणपश्चात सूर्य चिन्हबाट निर्वाचित भएका राप्रपा नेपालका उम्मेदवारलाई एमालेले चाहेको अवस्थामा कारवाही गर्न सक्छ। ‘भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुन्छ,’ थपलियाले भने। 

अन्य साना राजनीतिक दलहरुले पनि ठूला दलका चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने तयारी गरिरहँदा आयोगको स्पष्टिकरणले साना दलहरुको अस्तित्व संकटमा परेको छ।  

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्