लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्न प्रदेश प्रमुख शेरचनको सुझाव
दाङ, वैशाख १० : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन् । महिला र...
दाङ, वैशाख १० : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न सुझाव दिएका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उहाँले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा काम गर्नुपर्नेमा जोड दिए।
सञ्चारिका समूह लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझावसमेत दिए।
प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले सामाजिक न्याय, लैङ्गिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा जोड दिए।
प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो वा त्यो भन्दै पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकारसमेत खोस्ने काम भएकाले त्यसविरुद्ध आवाज उठाउन आग्रह गरिन्।
कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले हरेक बजेटलाई लैङ्गिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफलसमेत थालेको बताए।
सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले लैङ्गिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यावसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा चर्चा गरेकी थिइन्।
उनले व्यावसायिक सीप र क्षमता बढाउँदै महिला पत्रकार प्रतिस्पर्धामा उत्रिरहेका छन् तर पुरुषको तुलनामा उनीहरुलाई स्थापित हुन समस्या र चुनौती हुने भए पनि समाधान गर्दै अगाडि बढ्न सुझाव गरिन्। सोही समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन्। कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच दर्जनभन्दा बढी महिला पत्रकार सहभागी थिए।












