पासाङ ल्हामु प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं, वैशाख १० : उच्च हिमाली क्षेत्रका महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ।
स्व पासाङ ल्हामुको २९औँ स्मृति दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत दावा फुटी शेर्पाले पासाङ ल्हामु मेमोरियल कलेजमा अध्ययनरत १० विद्यार्थीलाई ‘टेन्डी शेर्पा छात्रवृत्ति’ प्रदान गरे । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाको स्मृतिमा सन् १९९३ मा प्रतिष्ठानको स्थापना गरिएको थियो।
प्रतिष्ठानले उच्च हिमाली तथा हिमाली क्षेत्रका महिला र बालबालिको क्षमता, शैक्षिक तथा स्वस्थ्यस्तर अभिवृद्धि, पर्वतीय पर्यटन प्रवद्र्धन एवं पर्वतारोही तथा तिनका परिवारका सदस्यलाई कल्याणकारी सहयोग गर्दै आएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त महिलाले आफ्नो क्षमताको आफैँले पहिचान र विकास गर्नुपर्नेमा जोड दिएका थिए। पूर्वराजदूत शेर्पाले पासाङ ल्हामुको सम्झना र योगदानका साथसाथै साहसी र सक्षम महिलाको अनुभव आदानप्रदान गर्न कार्यक्रम महत्वपूर्ण रहेको बताए।
पासाङ ल्हामु शेर्पाले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरेर फर्कने क्रममा हिमपहिरोमा परी उनको निधन भएको थियो । सरकारले उनलाई २०५९ वैशाख १० गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । पासाङको सम्झनामा हुलाक टिकटसमेत प्रकाशित भएको छ।












