Kathmandu Press

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

गलकोट, वैशाख १० : बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ । कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै...
एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

गलकोट, वैशाख १० : बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ । कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका नर्जाखानी बासीको घर घरमा अहिले खानेपानीको पहुँच पुगेको छ। 

लामो समय स्थानीयवासीले खानेपानीको चरम अभाव भोग्दै आएको थियो । अहिले एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको धारा जडान गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ । गाउँमा पानीको अभाव हुँदा यहाँका स्थानीयवासीले एक गाग्री पानीका लागि घण्टौं समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता रहेको थियो । एक घर एक धारा निर्माणसँगै सो बाध्यता हटेर गएको छ । पालिकाकै सबैभन्दा दुर्गम गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि अहिले नर्जाबासीका लागि वरदान सावित भएको छ । 

Hardik ivf

नर्जाखानी गाउँकी मिन छन्त्याल अहिले घर घरमै धारो बनेको र बानी पनि प्रसस्तै आउँदा पहिलेको दुख बिर्सिएको बताए। उनले पानीको अभावका कारण विगतमा बिहानसाँझ पानी बोक्न मै महिलाको दिन बित्ने गरेकोमा अहिले आफूहरुको दैनिकी नै फेरिएको बताए। 

एक घर एक धाराले गर्दा तरकारीलगायत अन्य खेती गर्न सहज भएको भन्दै समयको समेत बचत हुने गरेको उनको भनाइ छ । नर्जाखानीमा तमानखोला गाउँपालिकाले रु ३८ लाख लगानी गरेर एक घर एक घरा निर्माण गरेको छ । स्थानीयवासीलाई खानेपानीको साह्रै समस्या भएपछि पहिले खानेपानीको योजनामा लगानी गरेको तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल बताए। 

एक घर एक धारा निर्माणका लागि स्थानीयवासीले श्रमदान पनि गरेका छन् । यो अभियानअन्तर्गत नर्जा गाउँमा ११४ व्यक्तिगत धारा र दुई वटा सार्वजनिक धारा निर्माण गरिएको छन्त्यालले बताए। उनले वडा नम्बर ६ नर्जाखानीकै भित्रिवनमा पनि एक घर एक धारो निर्माण गरेको बताए । ‘हामीले यहाँका प्रत्येक बस्तीमा खानेपानीको व्यवस्थापनका लागि लागेका छौँ, अहिले भित्रीवनमा पनि योजना सञ्चालनमा आएको छ, विभिन्न आर्थिक वर्षमा विनियोजन गरेको २० लाखले यहाँ काम भएको हो,’ अध्यक्ष छन्त्यालले भने। 

तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि तमानखोला गाउँपालिकाले विभिन्न योजना अगाडि बढाइरहको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकासहित प्रदेश सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत पनि खानेपानीका योजना निर्माणको काम अगाडी बढेको बताए। 

गाउँपालिकाले पालिकाका सबै बस्तीका नागरिकलाई स्वच्छ र सफा पानी सहज रुपमा खुवाउने उद्देश्यले काम गरेको उनले बताए । अध्यक्ष बुढामगरले अहिलेसम्म अधिकांश बस्तीमा एक घर एक धारो निर्माण गरेको भन्दै केही छुटेका बस्तीमा पनि निर्माण सुरु गरेको भन्दै केही समयमा सबै नागरिकले सहज रुपमा खानेपानी उपभोग गर्न पाउने बताए। 

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्