Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरको हुने

बिहीबारदेखि विधिवतरुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान जजिरा एयरको हुने

भैरहवा, वैशाख १०ः बिहीबारदेखि विधिवतरुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्ध पूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । 

सो दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजे नेपालबाट लगभग ३० यात्रु लिएर कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Hardik ivf

त्यसपछि साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिए ।

पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन् । एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुनेगरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित देखिएका छन् ।  

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए ।

“धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ,” उनले भने।

नेपालमा दोस्रो विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ । यससँगै अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १०:४६ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्