महानगरको मेयरका उम्मेदवार छान्न कांग्रेस बैठक बस्दै
काठमाडौं, वैशाख १० : स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।कांग्रेस विधानमा...
काठमाडौं, वैशाख १० : स्थानीय तह निर्वाचनका लागि महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
कांग्रेस विधानमा महानगरको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले छनोट गर्ने व्यवस्था छ। त्यसैअनुसार, महानगरका मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
आज बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार अपराह्न ३ बजे बोलाइएको थियो। नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि आजलाई सारिएको पौडेलले बताए।
सत्तारुढ गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार कांग्रेसको भागमा तीन वटा महानगर परेका छन्। काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले पाएको छ। त्यस्तै, भरतपुर, वीरगञ्ज र पोखराको उपमेयर पाएको छ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।











