Kathmandu Press

जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु

जुम्ला, वैशाख १०: जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ।आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा...
जुम्लामा आगलागी हुँदा चार बालबालिकाको मृत्यु
सांकेतिक तस्बिर

जुम्ला, वैशाख १०: जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ।

आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ११ वर्षीया अनु, तीन वर्षीया दर्शना, एक वर्षीय दीपेश र १४ वर्षीया तिर्सना सार्की रहेका छन्।

राति ११ः४५ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। आगलागीको सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको उनले बताए।

आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको छ। जसले गर्दा बालबालिकाको ज्यान गएको उनले बताए।

आगलागीमा परेर घाइते भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। मृतक चारै बालबालिकाको शव परीक्षणका लागि प्रतिष्ठानमा ल्याउँदै गरेको उनले बताए।

आगलागी कसरी भयो भन्ने खुलेको छैन। यसमा अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए। (रासस)

प्रकाशित मिति: ०६:४५ बजे, शनिबार, वैशाख १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्